नागरिकता किर्ते प्रकरणमा पक्राउ परे सिरोहिया, मिडिया क्षेत्रलाई आतङ्कित बनाएको टिप्पणी

नागरिकता किर्ते प्रकरणमा पक्राउ परे सिरोहिया, मिडिया क्षेत्रलाई आतङ्कित बनाएको टिप्पणी

123
SHARES

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। नागरिकता किर्ते प्रकरणमा अनुसन्धानका लागि सिरोहियालाई एसएसपी सानुराम भट्टराई नेतृत्वको टोलीले कान्तिपुरको कार्यालय थापाथलीबाट पक्राउ गरेको हो।

सिरोहियालाई पक्राउ गर्न पुगेको प्रहरी टोलीसँग केहीबेर विवाद भएको थियो भने पक्राउ गरे लगत्तै कार्यालयमा नाराबाजी र धकेलाधकेल समेत भएको थियो।

नागरिकताको विषयलाई लिएर पक्राउ पुर्जी जारी भए पनि सिरोहियाले भने पक्राउ पुर्जीलाई मिडियासँग जोडेका छन्। पक्राउ परेपछि पत्रकारहरुसंग सिरोहियाले दुई ओटा पासपोर्टको मुद्दा रहेका गृहमन्त्री लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनुपर्ने माग गरे।

सिरोहियाले आफू संलग्न मिडियासँग नजोडिएको विषय भए पनि राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने जिकिर गरेका छन्। उनले नागरिकता प्रकरणमा नभई आफूलाई समाचार लेखेकै विषयमा गृहमन्त्री लामिछानेको निर्देशनमा पक्राउ गरेको दाबी गरे।

सिरोहियाले कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको र बाबु घासिराम माडवारी अङ्गीकृत नागरिक भए उनले भने वंशजको नागरिकता लिएको आरोप छ। सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए।

सिरोहियाले रिट निवेदन पेस गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। रिटको पेशी बुधवारका लागि तोकिएको छ। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। त्यही जाहेरीका आधारमा सिरोहिया पक्राउ परेका हुन्।

सिरोहिया पक्राउबारे नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ। महासङ्घका अध्यक्ष विपुल पोखरेलले कार्यकक्षमै पुगेर भएको गिरफ्तारी निन्दनीय भएको बताउँदै सिङ्गो मिडिया क्षेत्रलाई आतङ्कित बनाएको टिप्पणी गरे।

वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि मिडिया क्षेत्रमा भएको दमन प्रति आपत्ति जनाए। गृहमन्त्री लामिछानेले सत्ता र पदको दुरुपयोग गरिरहेको बताउँदै उनले तत्काल लामिछानेलाई पदमुक्त गराउनु पर्ने माग गरे।

नेपाल प्रहरीले भने पक्राउ पुर्जी जारी भएपछि खोजी गर्दै जाँदा कार्यकक्षमै भेटिएकाले सिरोहियालाई पक्राउ गरिएको बताए। उनलाई जनकपुर लगिँदै गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो।

समाचार शेयर गर्नुहोस्
123
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.