आशा जगाउँदै बालेन, घुर्की लगाउँदै रवि

आशा जगाउँदै बालेन, घुर्की लगाउँदै रवि

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र वडा नं २२ का अध्यक्ष चीनकाजी महर्जनबीच कार्यपालिका बैठकमा चर्काचर्की परेको छ।

राजनीतिक दलको पुच्चर नसमाती लौरो बोकेर चुनाव जितेका बालेनलाई वडा अध्यक्षहरूले र्‍याखर्‍याख्ती पारेका छन्। तर, बालेन महानगरको निर्णयमा अडिग भएर उभिएका छन्।

औँला उठाउने जनप्रतिनिधिहरू बालेनको जवाफपछि दलको झोले भएको स्विकार्न बाध्य भएका छन्। काठमाडौं न्यूरोडमा सडक पेटी बनाउने काममा वडा अध्यक्ष महर्जनले प्रश्न गरेपछि बालेन झोक्किएका छन्।

देशभरका ७५३ स्थानीय तह जस्तै काठमाडौं महानगरले पनि दुई वर्षे कार्यकाल सम्पन्न गरेको छ। फुटपाथको व्यापार हटाउनेदेखि सार्वजनिक जग्गा मिचेर बनेका घर टहरा भत्काउने अभियान चलाएका बालेनले विरोध भन्दा धेरै समर्थन पाइरहेका छन्।

समर्थन पाएका बालेन हौसिएका छन्। नियम कानुन विपरीत मनलाग्दी गर्नेहरूलाई सबक सिकाएका बालेनले न्यूरोडमा सडक पेटी बढाउन नदिने वडा अध्यक्ष महर्जनको झाँको नै झारेका छन्।

यो चर्काचर्की नगर कार्यपालिका बैठकमा परेको हो। महानगरप्रमुखमा बालेन निर्वाचित भएपछि बसेका हरेक कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ। राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिको सहमतिमै निर्णय गराउन बालेन अहिलेसम्म सफल पनि भइरहेका छन्।

देशको राजधानी काठमाडौँको बागडोर सम्हालेका बालेन बोल्ने भन्दा काम गरेर देखाउन लागेका छन्। राजनीतिक दलको घुम्टो ओढेर आएकालाई आच्छुआच्छु नै पारेका बालेनले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरेको दाबी पनि गरेका छन्।

बालेनले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरिरहँदा स्वतन्त्र नामको खोल ओढेर सङ्घीय संसद् हुँदै मन्त्रिपरिषद्मा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू भने पुरानै दलको सिको गरेर निर्णय लुकाएर बसेका छन्।

पुरानाले गरेनन्, नयाँले केही गर्लान् भन्ने आशा राखेका जनतालाई स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोली अनुसारको काम नहुँदा निराश बनाइदिएको छ। भ्रष्टाचारका फाइल खोलेर जेल कोच्ने रविको अभिव्यक्ति आफैँमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि पानीको फोका जस्तै बनेको छ।

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डका फाइल खोलेका थिए। तर, गृहमन्त्री नपाए सरकारमा नजाने र गृहमन्त्री आफैँलाई चाहिने अड्डी कसेका लामिछानेले भने भ्रष्टाचारका फाइल खोल्ने धम्की मात्रै दिँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.