प्रचण्ड क्याबिनेट : राजदूत फिर्ता बोलाएर भारत जाने

प्रचण्ड क्याबिनेट : राजदूत फिर्ता बोलाएर भारत जाने

काठमाडौं : छिमेकी देशमा अस्थिरता निम्त्याउन माहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ अस्थिरताको भुमरीमा परेका छन्। सन् २०१४ देखि चुनावी परिणाम आफ्नो पक्षमा पार्दै आएका मोदी यो पटकको चुनावमा खुम्चिएका छन्।

नेपालमा जस्तै मोदीको दल भारतीय जनता पार्टी एक्लैको बहुमत पुग्न सकेन। सरकार गठनका लागि भाजपाले अरू दलको समर्थन लिनै पर्ने बाध्यता छ। गठबन्धन गरेर चुनाव लडेका नितिश कुमार र चन्द्रबाबु नायडुले मोदी सरकारको विकल्प खोजेका छन्।

उनीहरू विपक्षी गठबन्धनसँग निरन्तर छलफलमा छन्। नेपालको जस्तै भारतको संसद् पनि त्रिशङ्कु बन्ने चुनावी नतिजा आएको छ। नेपालमा संविधान जारी हुँदा नाकाबन्दी गरेका मोदी छिमेकी देशमा अस्थिरता निम्त्याउने खेलाडीका रूपमा समेत चिनिएका छन्।

भुटानी शरणार्थी नेपालको मात्रै समस्या भएको भन्दै मौन बसेका मोदीले चुनाव सुरु हुनै लाग्दा भुटानको भ्रमण गरेका थिए। भुटानी राजा र समकक्षीलाई भेटेका मोदी शरणार्थीबारे चुइँक्क केही नबोली फर्किएका थिए।

मोदी तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। आइतबार हुने मोदीको शपथ ग्रहणमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जादैछन्। प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहणमा सहभागिता जनाउने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

प्रधानमन्त्री प्रचण्ड क्याबिनेटले भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा सहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय समेत गरेको छ। नेपाली काँग्रेसको कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको हो।

प्रचण्डको तेस्रो प्रधानमन्त्री कार्यकालमा यो दोस्रो भारत भ्रमण हो। नेपाली राजदूतलाई फिर्ता बोलाएर प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहणमा जान लागेका हुन्। सरकारी प्रवक्ता शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया सहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको सुनाइन।

संविधान संशोधन गर्न पुग्ने गरी ‘अबकी बार ४०० पार’को नारा दिएर चुनावमा होमिएको भारतीय जनता पार्टी भाजपालाई जनताले नपत्याइदिँदा यसपटकको लोकसभा निर्वाचनमा सामान्य बहुमत पनि ल्याउन नसक्ने गरी खुम्चिएको छ।

२०१४ र २०१९ मा एकल बहुमतको सरकार चलाएका मोदी यसपटक भने गठबन्धन बनाएर सरकार गठन गर्नुपर्ने बाध्यतामा छन्। भाजपा २४० सिटमा खुम्चिएपछि नयाँ सरकार बनाउन मोदीलाई तेलुगू देशम पार्टीका एन चन्द्रबाबु नायडु र जनता दल युनाइटेडका नितिश कुमारमाथि निर्भर हुनुपर्नेछ। यी दुईलाई साथमा लिएर सत्ता सञ्चालन गर्न मोदीलाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेको छ।

भाजपा नेतृत्वको एनडीएको बैठकले मोदीलाई गठबन्धनको नेता चुन्दै प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ। अयोध्यामा बाबरी मस्जिद भत्काएको भूमिमा राम मन्दिर उद्घाटन गराएपछि मोदीले आफ्ना नेता/कार्यकर्तालाई आफू ठुलो नेता मात्रै नभएर भगवानकै अवतार भएको भाष्य स्थापित गर्न लगाएको आरोप लागेको थियो।

मोदी गठबन्धनको बलमा प्रधानमन्त्री नियुक्त भएमा जवाहरलाल नेहरुपछि लगातार तेस्रोपटक प्रधानमन्त्री निर्वाचित हुने कीर्तिमान कायम गर्नेछन्। मोदीको तेस्रोपटकको आगमनसँगै अब भारत फेरि अस्थिर गठबन्धनको चरणमा प्रवेश गरेको छ।

विगत २४ वर्षमा भारतले अटल विहारी बाजपेयीको एक कार्यकाल, डा मनमोहन सिंहको दुई कार्यकाल र पछिल्लो समय मोदीको दुई कार्यकाल गरी पाँच कार्यकाल मात्रै स्थिर सरकार पाएको थियो। तर, मोदीले भने शपथ ग्रहण समारोहका लागि नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाइसकेका छन्।

२०१४ को शपथग्रहण कार्यक्रममा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र २०१९ मा प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए। यसपटक पनि मोदीले नेपाललाई शपथग्रहणमा सहभागी भइदिन भन्दै प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाइसकेका छन्।

मोदीलाई प्रधानमन्त्रीमा रोक्ने नितिश कुमारको दाउ

केजरीवालको गिरफ्तारीले बबाल, मोदीलाई भुटानमा मेजमानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.