सिंहदरबार छिर्‍यो महानगर, गर्‍यो बालश्रमिकको उद्धार

सिंहदरबार छिर्‍यो महानगर, गर्‍यो बालश्रमिकको उद्धार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र क्यान्टिनमा काम गर्ने बालश्रमिकको उद्धार गरेको छ। विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरूबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका १८ वर्षमुनिका २ जना बालक र २ जना बालिका छन्। उनीहरूमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रूपमा सञ्चालन भएको स्थानबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्का १ जना बालकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिइन।

महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषद्का प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुर्व्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको जनाएको छ।

महानगरपालिकाका अनुसार यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा संरक्षित गरिएको छ। महानगर बाल अधिकार समितिका सदस्य धिरज जोशीका अनुसार उद्धारपछि उनीहरूले श्रममा भोग्नु परेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ।

बालबालिकाहरू महानगरपालिकाभित्र घरेलु श्रमिक, होटल र होस्टेल, यातायात क्षेत्र (जोखिममा रहेका÷संरक्षणको आवश्यकता भएका) को श्रममा आबद्ध भेटिएका छन्। जोखिममा रहेका बालबालिकाहरूको अवस्थालाई रातो, पहेँलो र हरियो रङ्ग सङ्केतका आधारमा वर्गीकृत गर्ने गरिएको समितिका अर्का सदस्य प्रवीण सिलवालको भनाइ छ।

१२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो रङ्ग सङ्केत भएको वर्गमा राखिन्छ। दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौच गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो रङ्ग सङ्केत भएको वर्गमा राखिन्छ।

यस्तै, मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो रङ्ग सङ्केत भएको वर्गमा राखिएको छ।

यीमध्ये रातो रङ्ग सङ्केत वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको महानगरपालिकाले जनाएको छ। बालबालिकाहरूको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेस्टुरेन्ट तथा होस्टेलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्था पत्ता लगाउन खटिने गरेका छन्। यसरी खटिने इन्टर्नहरुको सङ्ख्या ३१ जना रहेको छ।

उद्धारपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ। परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ। परिवार पत्ता नलागेमा, परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ।

हिंसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बाल शोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू संरक्षण बाल संरक्षणका दायित्व हुन्।

महिला सञ्जालको कार्यक्रममा बाल नाटक

महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल श्रम विरुद्धको आवाज शीर्षकमा नाटक मञ्चन गरेका छन्।
गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिक हिंसाको सिकार हुने कारण नाटकमा देखाइएको थियो। श्रम क्षेत्रका बालबालिकालाई श्रममुक्त गराउन अन्य साथी बालबालिकाहरूकै पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने नाटकको सन्देश थियो।

सञ्जालकी संयोजक रुपा थापा भन्छिन्,‘रात्रिकालीन व्यवसाय, मनोरञ्जनका क्षेत्र, खाजा घर तथा अन्य व्यावसायिक स्थानमा हुने गलत क्रियाकलाप र बाल श्रम विरुद्धको अभियानका लागि अन्तरक्रियात्मक संवाद गरिएको छ।’ वडाले बालबालिकासँगै महिला र युवतीलाई हिंसाबाट बचाउनु पर्नेछ। पुरुषहरूलाई समेत सहभागी गराएर हिंसा शून्य समाज निर्माण गर्नु पर्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.