सत्ता गठबन्धनमा असन्तुष्टि, विकल्प खोज्ने एमाले र रास्वपाको सङ्केत

सत्ता गठबन्धनमा असन्तुष्टि, विकल्प खोज्ने एमाले र रास्वपाको सङ्केत

काठमाडौं : सत्तारुढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको विकल्प खोज्ने सङ्केत दिएका छन्।

काँग्रेससँगको गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका सत्तारुढ एमाले र रास्वपाले सरकारको विकल्प खोज्ने सङ्केत दिएका हुन्।

फेरी गठबन्धन फेर्ने विकल्प भए पनि काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएको छ। एमालेले पार्टीबाट दुई/चार जना मन्त्री बन्दैमा सरकारलाई समर्थन गरिरहन नसकिने बताएको छ भने रास्वपाले अनावश्यक सम्झौता गर्न लगाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर फर्किए पछि प्रचण्ड चेपुवामा परेका छन्। उनले भारत भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी नदिएकोमा काँग्रेस र एमाले दुवैले आलोचना गर्दै आएका छन्।

आगामी आर्थिक वर्षको बजेट पारित गर्ने दिन नजिकिँदै गर्दा प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी जोगाउन सकस पर्ने देखिएको छ। सत्तारुढ प्रमुख घटक एमालेले सरकारको बजेटले विकास नहुने भन्दै असन्तुष्टि जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा एमाले विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए। एमाले देशलाई गरिबीतिर जानबाट रोकेर एक/दुई जनाको मुख हेरेर सरकारमा बसिरहन नसक्ने ओलीको सङ्केत थियो।

अर्को सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार पुरातन शैलीमा चलेको आरोप लगाएको छ। रास्वपाबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने आएको बताए।

पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले मिति लेख्न मात्रै बाँकी राखेर खल्तीमा राजीनामा बोकेर हिँडेको बताउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए। उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक सम्झौता गर्न लगाए पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए।

सभापति रवि लामिछानेले सरकारमा गएर उल्लेख्य राम्रो गर्न नसके पनि देशका लागि नराम्रो नगर्नुलाई नै अहिलेका लागि उपलब्धि मान्नुपर्ने बताए। उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उनले आफूहरू सरकारमा गएर विधि स्थापना गरेको दाबी गरे।

सत्तारुढ दलहरू नै सरकारको आलोचनामा उत्रिँदा प्रमुख प्रतिपक्षी काँग्रेसले प्रचण्ड गठबन्धन फेरेर प्रधानमन्त्री मात्रै बनिरहने ध्याउन्नमा लागेको आरोप लगाएको छ।

महामन्त्री गगनकुमार थापाले प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए। काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा काम गर्ने आइडिया नै नभएको सुनाए।

यसअघि काँग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री हुँदा काम गर्न नसकेको दोष काँग्रेसमाथि थोपरेर एमाले पनि पन्छिरहेको महामन्त्री थापाको भनाई थियो। प्रधानमन्त्री पनि सरकारका कामको जिम्मा लिने अवस्थामा नरहेको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले भने सरकारमा सहभागी दलको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने देखिएको बताएका छन्।

जनश्रम कृषि सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा महासचिव विप्लवले आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेका भन्दै नागरिकले बजेटबाट के आशा गर्ने? भन्दै प्रश्न गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.