विश्व बैङ्कको नेपाल निर्देशक फारिस फर्के, डेभिडलाई स्वागत

विश्व बैङ्कको नेपाल निर्देशक फारिस फर्के, डेभिडलाई स्वागत

काठमाडौँ : विश्व बैङ्कले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैङ्कको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ। डेभिडले काठमाडौँस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन्।

अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैङ्कका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रूपमा कार्यरत थिए।

उनीसँग विश्व बैङ्कमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ।

डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन्। नवनियुक्त निर्देशक डेभिडले नेपाल, मालदिभ्स र श्रीलङ्कामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन्।

विश्व बैङ्कले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैङ्कले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो।

अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ। देशीय निर्देशकसँगै विश्व बैङ्कले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ।

लाडा स्ट्रेलकोवा कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छन्। बिदाइसँगै भएको स्वागत कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी थिए।

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे। फारिसको कार्यकालमा सुरु भएका प्रयासहरूको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनले व्यक्त गरे।

नेपालमा मङ्गलवारबाट सुरु हुने विश्व बैङ्कको आईडीए–२१ बैठकको पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको उनले बताए। उनले नेपाल र विश्व बैंकबीचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अपेक्षा व्यक्त गरे। फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो।

नेपालमा विश्व बैङ्कको पोर्टफोलियोको विस्तार, वित्तीय, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्त्वपूर्ण काम भएको स्मरण गरे। अमेरिकी नागरिक फारिस ०७३ असारमा बैङ्कको नेपाल निर्देशकका रूपमा आएका थिए। त्यसअघि फारिस नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रबन्धक थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.