प्रचण्डको जादुवाला नम्बर : प्रधानमन्त्रीबाट हटाउन नसक्ने

प्रचण्डको जादुवाला नम्बर : प्रधानमन्त्रीबाट हटाउन नसक्ने

प्रधानमन्त्री लुते बनेको गगनको टिप्पणी

काठमाडौं : सरकार गठन भएको १८ महिना पुग्न लागेको छ। २०७९ पुस १० गते प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले तीन पटक विश्वासको मत लिएका छन्। १८ महिनामा १८ औँ पटक मन्त्रिपरिषद् विस्तार भएको छ।

सङ्घीय संसद्मा तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो दललाई आलोपालो सरकारमा सहभागी गराएर प्रधानमन्त्रीको कुर्सी जोगाएका छन्। संसद्को पहिलो दल काँग्रेस र दोस्रो दल एमालेले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रचण्ड प्रधानमन्त्रीको कुर्सी जोगाउन सफल भएका छन्। प्रधानमन्त्री प्रचण्डको १८ महिना भने काँग्रेस र एमाले मिलेर सरकार बनाउन नदिने रणनीति बनाउँदैमा बित्न लागेको छ। संसद्मा ३२ सिट रहेको माओवादी केन्द्र दुई दललाई मिल्न नदिन पनि सफल भएको छ।

प्रधानमन्त्री प्रचण्डले यसलाई थोरै नम्बर भनेर चिन्ता गर्न नपर्ने बताए। काँग्रेस र एमाले दुबैलाई घुमाएर सत्ताको नेतृत्वमा रहेका प्रचण्ड देशमा सरकार भएको अनुभूति दिलाउन असफल बनेका छन्।

प्रधानमन्त्री प्रचण्डले जादु वाला नम्बरले अनेक गरेर मिलाइहाल्ने बताए। मिलाइ मिलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने रणनीतिले बाँकी पूरै कार्यकाल कसैले पनि हटाउन नसक्ने प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्डले आफूहरूको संसद्मा भएको (३२) सिट सङ्ख्यालाई जादुयी नम्बर भन्दै सरकारबाट कसैले हटाउन नसक्ने दाबी गरे।

प्रधानमन्त्री प्रचण्ड आफ्नो पद मात्रै जोगाउन लाग्दा सरकारको सुशासन कायम गर्ने नारा खोक्रो बनेको छ। अपराधबाट जोगिन सरकारमा टाँसिने नेताहरूका कारण कानुन कार्यान्वयन गर्ने निकाय रनभुल्लमा परेको छ।

मन्त्रीहरूमाथि लागेका आरोपको छानबिन नै हुन सकेको छैन। भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा लिए मात्र देश बन्ने प्रधानमन्त्रीदेखि मन्त्रीहरूको बोली व्यवहारमा फिटिक्कै देखिँदैन।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित यस्तै अभिव्यक्ति दिएका छन्। परराष्ट्रमन्त्री श्रेष्ठले लामिछानेको कामप्रति असन्तुष्टि जनाए।

आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको तर वर्तमान गृहमन्त्री लामिछानेले त्यति पनि गर्न नसकेको परराष्ट्रमन्त्री श्रेष्ठले आरोप लगाए।

नेपाली काँग्रेस महामन्त्री गगन थापाले भने आफुहरुसंगको गठबन्धन तोडेपछि प्रधानमन्त्री प्रचण्ड अहिले लुत्ते बनेको टिप्पणी गरेका छन्। प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीलाई आफ्नै मन्त्रीले समेत टेर्न छाडेका बताए।

यस्ता लुत्ते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने दाबी महामन्त्री थापाले गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मात्रै टेर्ने मन्त्री बनाएको थापाले टिप्पणी गरे। थापाले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेटले अर्थ मन्त्रालयमा राती ग्याङ लिएर गएको भन्दै २५ अर्ब बजेट चट पारेको आरोप समेत लगाए।

महामन्त्री थापाले अहिले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको जिम्मा लिने व्यक्ति नै नरहेको बताए। एमालेले पनि प्रचण्ड सरकारको जिम्मा लिन आनाकानी गरिरहेकाले अहिले सरकारका सबै काममा उसले विरोध जनाइरहेको उनको भनाई छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै थापाले चटकेहरुको बारेमा थप टिप्पणी नगर्ने उल्लेख गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.