जब रविले ‘मिडियाको हेडमास्टर हुँ’ भन्दै थर्काए…

जब रविले ‘मिडियाको हेडमास्टर हुँ’ भन्दै थर्काए…

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकाललाई एक साताका लागि निलम्बन गरेको छ। पार्टीको अनुशासन आयोगको सिफारिसमा पार्टीको केन्द्रीय समितिले उनलाई निलम्बन गरेको हो।

बुधवार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार गरेको भन्दै कारबाहीको निर्णय गरेको हो। यससँगै तत्काललाई पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ।

डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधवार बिहानदेखि राति १२ बजेसम्म केन्द्रीय समिति बैठकमा छलफल भएको थियो। बैठकको प्रत्यक्ष प्रसारण नहुने भएपछि ढकालले विरोधस्वरुप मुखमा मास्कमाथि कालो टेप लगाएर बैठकमा सहभागिता जनाएका थिए।

आफू निलम्बनमा परसँगै डा. ढकालले सामाजिक सञ्जालमा पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि जनाएका छन्। उनले बोलेकै आधारमा आफूलाई निलम्बन गरिएको सामाजिक सञ्जालमा लेखेका छन्।

डा.ढकालको फेसबुक स्ट्याटस :

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ। प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो। मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ।

तर सरकारमा पुगे पछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो–यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने, त्यही बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसेँ। विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए। मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्।

जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ। बालहठ जस्तो होस्, अस्वाभाविक लागोस्, वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै।

जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म।

सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्‍यो भने ‘लाई डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु। त्यसपछि, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.