ललितपुर : ललितपुर ग्वार्कोस्थित नेपालको हेल्थ पायोनियर बी एन्ड बी अस्पताल। भरखरै सञ्चालनमा आएको अत्याधुनिक सुविधा सम्पन्न ‘बी एन्ड बी प्लस’ भवनको दोस्रो तला। नयाँ अपरेसन थिएटरको ‘ओटी नम्बर २’। र, त्यहीँ बसेको छ, अस्पतालको नयाँ सदस्य ‘मन्त्र २.५’।
झट्ट सुन्दा ‘मन्त्र २.५’ पनि मानिसको नाम हुन्छ भन्ने लाग्न सक्छ। हो, यो मानिस होइन, बिरामीको शल्यक्रियाका लागि जडान गरिएको रोबोट हो। र, नेपालमै पहिलोपटक सर्जिकल रोबोट ‘मन्त्र २.५’ले बिरामीको शल्यक्रिया सुरु गरेको छ। बी एन्ड बी अस्पतालका कन्सलट्यान्ट जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डा. नीरजलाल वैद्यका अनुसार रोबोट राख्न अलि ठुलो स्पेस आवश्यक हुन्छ। र, सबैभन्दा ठुलो अपरेसन थिएटरमा यसलाई जडान गरिएको छ।
नेपालमा सर्जिकल रोबोट किन आवश्यक पर्यो ? बी एन्ड बी अस्पतालका संस्थापक दुई ‘बी’ अर्थात् प्रा. डा. अशोककुमार बाँस्कोटा र प्रा. डा. जगदीशलाल वैद्यमध्ये एक प्रा. डा. वैद्य भन्छन्, ‘यसको फाइदा सर्जन र बिरामी दुवैलाई देखेर हो हामीले सर्जिकल रोबोट ल्याउने निर्णय गरेको।’
उनका अनुसार घण्टौँ अपरेसन थिएटरमा बसेर घाँटी र हात दुख्ने समस्याबाट अब सर्जनले मुक्ति पाउने छन्। ‘अब सर्जनको सर्जरी गर्ने उमेर बढ्छ। किनकि, मानवीय गुण नै हो, ६० वर्ष कटेपछि हातमा आर्थराइटिस ट्रेमर्स आउन सुरु हुन्छ, जुन ट्रेमर्स रोबोटले सजिलै फिल्टर गरिदिन्छ र विना ट्रेमर्स अपरेसन सफल हुन्छ,’ प्रा. डा. वैद्य भन्छ
‘यो सूक्ष्म तरिकाको सानो प्वाल पारेर गर्ने अपरेसन हो। यसमा स्पष्ट थ्री डी भ्युज देखिन्छ। थ्री डी मुभी हेर्दा कालो चस्मा लगाएजस्तै चस्मा लगा
एरै अपरेसन गर्नुपर्छ। र, एकदमै अप्ठ्यारो ठाउँको अर्थात् मानिसको आँखाले हेर्नै गाह्रो हुने अवस्था अब बाँकी रहेन। त्यसैले गाह्रो ठाउँको अपरेसन सफलतापूर्वक गर्न सकिने भएकाले बिरामीलाई पनि फाइदै फाइदा छ।’
उनका अनुसार सर्जिकल रोबोटको प्रयोग भनेकै गाह्रो ठाउँको अपरेसन पनि सफलतापूर्वक सम्पन्न हुनु हो। जस्तो- प्रोस्टेट ग्ल्यान्डको क्यान्सर अर्थात् मानिसको नितम्बको पछाडि (पेल्भिक बोन)को पछाडिपट्टि हुने क्यान्सरको अपरेसन पनि अब सफलतापूर्वक गर्न सकिने छ। प्रोस्टेट ग्ल्यान्डको अपरेसन एकदमै जटिल मानिन्छ। र, त्यसक्रममा अत्यधिक रक्तस्रावको जोखिम रहन्छ। त्यो रक्तस्राव रोक्न रोबोट मद्दतगार साबित भइसकेको छ।
शरीरका अन्य अङ्गमा क्षति पुग्न नदिई नसाहरूलाई बचाएर शल्यक्रिया गर्न सर्जिकल रोबोटले ठुलो मद्दत गर्छ। प्रोस्टेट ग्ल्यान्डको अपरेसनको जटिलता भनेकै पिसाब चुहिने र अपरेसनपछि जननेन्द्रियले ठिक ढङ्गले काम नगर्ने समस्या हो। अब रोबोटको प्रयोगबाट हुने अपरेसनले यस्ता समस्या अन्त्य गर्ने विश्वास छ। ‘नसाहरू बचाएर अपरेसन गर्ने रोबोटले देखाउने थ्री डी भ्युले ठुलो मद्दत पुर्याउँछ,’ प्रा. डा. वैद्य भन्छन्।
तर, त्यसका लागि पनि सर्जनको अनुभवको ठुलो भूमिका रहन्छ। त्यसैले हो, रोबोट चलाउन शल्य चिकित्सकहरूलाई तालिम दिनु परेको पनि। शल्य चिकित्सकहरूले अवश्य जानेका हुन्छन्, नसा कहाँनिर हुन्छ भन्ने। र, ती नसा बचाएर शल्यक्रिया गर्न अब बी एन्ड बी अस्पतालमा ‘मन्त्र २.५’ले मद्दत गर्नेछ।
अमेरिकाजस्ता विकसित मुलुकमा रोबोट इन्स्टल नगरिएका अस्पताल नै छैनन्। छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा पनि झन्डै ४० वटा रोबोट इन्स्टल भइसकेका छन्। ‘त्यसैले नेपालमा पनि किन सर्जिकल रोबोटलाई काममा नलगाउने ?’ प्रा. डा. वैद्य भन्छन्, ‘हामीले ल्याएको रोबोटले अन्य कम्पनीको भन्दा आधा मूल्यमै बिरामीको अपरेसन गर्छ।’ उनका अनुसार अपरेसनका क्रममा प्रयोग हुने डिस्पोजेबल सरसामानको मूल्यका कारण सर्जिकल रोबोटमार्फत शल्यक्रिया गर्दा महँगो पर्न जान्थ्यो। ‘हामीले ल्याएको रोबोटमार्फत अपरेसन गर्दा डिस्पोजेबल सरसामानको मूल्य आधा नै सस्तो पर्छ,’ प्रा. डा. वैद्य भन्छन्।
भारतमा बनेको रोबोट भएकाले यसका सामानहरू नेपालमा ल्याउन पनि सहज छ। र, पोस्ट ग्र्याजुएट गरेका चिकित्साशास्त्रका नेपाली विद्यार्थीका लागि पनि ‘मन्त्र २.५’ उपयोगी हुने प्रा. डा. वैद्यको विश्वास छ।
प्रा. डा. वैद्यले शल्यक्रिया गर्न थालेकै ५२ वर्ष बित्यो। ८० वर्षको उमेरमा पनि उत्तिकै सक्रिय प्रा. डा. वैद्य हात र रोबोट दुवैबाट बिरामीको शल्यक्रिया गर्न सक्षम छन्। ‘त्यसको अर्थ सर्जिकल रोबोट प्रविधि आइसक्दा पनि सर्जनले हातले पनि अप्रेसन गर्न जान्नु उत्तिकै आवश्यक छ,’ उनी भन्छन्, ‘पहिले हातैले अपरेसन गर्न जानेर मात्र सर्जिकल रोबोटमा अभ्यस्त हुन सकिन्छ।’
‘मेरा जेठा छोरा डा. नीरज ल्याप्रोस्कोपीमा पोख्त छन्। कान्छो छोरा डा. सरोजले नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा सर्जिकल रोबोट चलाउने तालिम लिएर आएका छन्,’ प्रा. डा. वैद्य भन्छन्, ‘ल्याप्रोस्कोपीमा हात नचलेकालाई एकैचोटी रोबोट चलाउन गाह्रो हुन्छ। त्यसमा हात चलेकालाई मात्र यसमा सहज हुने हो।’
उनका अनुसार रोबोट सर्जरी माइनर अपरेसन होइन। र, यसमा पनि हातैले गर्ने अपरेसनजस्तै प्रक्रिया पूरा गर्नैपर्छ। बिरामीलाई अपरेसन थिएटरमा प्रवेश गराउनुअघि बेहोस बनाउने चिकित्सकले जाँच गर्छन्। सबै पाटोको जाँचपछि मात्र रोबोटले गर्ने अपरेसन थिएटरमा बिरामीलाई प्रवेश गराइन्छ।
‘युरोलोजिस्टहरूले रोबोट सर्जरी गर्छन्। बिरामीको किड्नीमा क्यान्सर छ र आधा किड्नी झिक्नुपर्ने भयो भने रोबोट सर्जरीबाट धेरै सहज हुन्छ,’ प्रा. डा. वैद्य भन्छन्, ‘रोबोटमा हार्मोनी स्काल्पल हुन्छ। त्यो भनेको बिजुलीमार्फत शरीर चिर्ने प्रविधि हो।’
स्त्रीरोगका शल्य चिकित्सकका लागि रोबोट सर्जरी झनै मद्दतगार देखिएको प्रा. डा. वैद्य बताउँछन्। पाठेघर झिक्ने, ओभरीको क्यान्सरको शल्यक्रियामा रोबोट सर्जरी उपयोगी प्रमाणित भएको छ। अमेरिकालगायत विकसित मुलुकमा त घुँडाको शल्यक्रिया हुन थालेको हो, जसलाई भनिन्छ- रोबोट एसिस्टेट टोटल नि रिप्लेसमेन्ट। रोबोटले ठ्याक्कै नापेर काट्छ। ‘प्रोस्टेटको अपरेसन गरे पनि एकदम सही ढङ्गले र घुँडाको गरे पनि ठ्याक्कै काट्नु नै रोबोटको विशेषता हो,’ प्रा. डा. वैद्य भन्छन्, ‘आजकल अमेरिकामा जसले घुँडाको रिप्लेसमेन्ट सर्जरी गर्छ, उनीहरूसँग रोबोट हुन्छ हुन्छ।’
उनका अनुसार सर्जिकल रोबोट एकदमै सफल भएको भनेको ‘हेड एन्ड नेक सर्जरी’मा पनि हो। जस्तो- नेपालमा अझै पनि गलगाँडको समस्या देखिँदै आएकै छ। गलगाँडको क्यान्सर उत्तिकै कमन बनेको छ। हातैले काटेर गरिने गलगाँडको अपरेसनबाट घाँटीमा काटेको दाग रहिरहन्छ। ‘काखीबाट प्वाल पारी यन्त्र पठाएर रोबोटले गलगाँडको अपरेसन गरिदिन्छ, जसकारण अब घाँटीमा दाग देखिने भएन,’ डा. वैद्य भन्छन्।
यस्तै, घाँटीका ग्रन्थिहरू क्यान्सरका कारण काट्नुपर्छ। हातैले गरिने त्यस्ता शल्यक्रियामा अत्यन्तै नराम्रा दागहरू बस्छन्। त्यो सबै अपरेसन सर्जिकल रोबोटले बाहिर होइन, भित्रैबाट गरिदिन्छ। र, घाँटीमा नराम्रा दागहरू बस्दैनन्।
‘तर, मुख्य विषय जनशक्ति हो, रोबोट त सामान मात्र हो। जबसम्म जनशक्ति तयार पारिँदैन, सामान मात्र ल्याएर उपलब्धि हासिल हुँदैन,’ प्रा. डा. वैद्य भन्छन्, ‘त्यसैले हामी सर्जनहरूलाई तालिममा पठाउँदैछौं। र, बी एन्ड बिमा पनि बोलाएर तालिम दिँदैछौं।’
उनका अनुसार ‘हेड एन्ड नेक सर्जन’हरूलाई भारत बैंगलोरमा तालिममा पठाइँदैछ। ‘बिरामीको ज्यानसँग बी एन्ड बीले कहिल्यै खेलबाड गर्दैन। डा. वैद्यले कहिल्यै त्यो काम गर्दैन,’ उनी भन्छन्।
भुईँबाट उठेको अस्पताल हो, बी एन्ड बी। त्यसो भए रोबोटबाट शल्यक्रिया गर्न थालेपछि बी एन्ड बी कहाँ पुग्छ त ? डा. वैद्यको सटिक जवाफ, ‘बी एन्ड बी कहीँ पुग्दैन, जहाँ छ त्यहीँ रहन्छ। किनकि, बी एन्ड बी भनेको मल्टिडिसिप्लिनरी विकास हो। अस्पतालमा आएको बिरामीलाई मान्छेजस्तो व्यवहार होस् भन्ने हाम्रो मुख्य ध्येय हो। बिरामीको मल्टिडिसिप्लिनरी सेवा पाउनुपर्यो। एक्स-रे, सिटी स्क्यान, एमआरआईदेखि रोबोट सर्जरीसम्म राम्रो हुनुपर्यो। बिरामीलाई आफ्नो परिवारजस्तो व्यवहार गर्नुपर्यो। जसरी हुन्छ बिरामीको ज्यान बचाउनुपर्यो। त्यसका लागि दिनरात भन्न पाइएन।’
डा. वैद्यको स्पष्टोक्ति छ, ‘सर्जिकल रोबोट भनेको बी एन्ड बीको टोपीमा कल्की लगाएको मात्र हो, यो टोपीचाहिँ होइन।’
डा. बाँस्कोटा र डा. वैद्य दुई पायोनियर चिकित्सकको प्रेम गीत गुनगुनाउँछ, बी एन्ड बी परिसरले। नेपालको स्वास्थ्य क्षेत्रका यी दुई पथ प्रदर्शकको सदैव अखण्डित र बलियो मित्रताको प्रतीक हो, बी एन्ड बी। र, स्वच्छ साझेदारीको पर्यायवाची पनि हो यो। त्यही मित्रताको एउटा मिठो धुन हो, सर्जिकल रोबोट, जसले देशकै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याएको छ।
०००
प्रा. डा. वैद्यका जेठा छोरा अर्थात् बी एन्ड बी अस्पतालका कन्सल्ट्यान्ट जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डा. नीरजलाल वैद्यका अनुसार सर्जिकल रोबोट सुरुमा अमेरिकी कम्पनी ‘डाभिन्ची’ले उत्पादन गर्न थालेको हो। ‘डा भिन्ची’ रोबोटबाट हुने शल्यक्रिया महँगो छ, संसारभर नै। भारतमा पनि ‘डा भिन्ची’ रोबोट इन्स्टल गरिएका थुप्रै अस्पताल छन्। जस्तो- नेपालीहरू उपचारमा बढी पुग्ने राजीव गान्धी क्यान्सर अस्पताल, नयाँदिल्लीमा पनि ‘डा भिन्ची’ रोबोटहरू इन्स्टल छन्।
भारतमा डा. सुधीर श्रीवास्तवले सन् २०१६ मा ‘एसएस इन्नोभेसन्स इन्टरनेसनल इन्कर्पोरेट’ स्थापना गरे। र, सोही कम्पनीले भारतमा पनि सर्जिकल रोबोट उत्पादन थाल्यो। पछिल्ला दिनमा राजीव गान्धी क्यान्सर अस्पतालले पनि स्वदेशमै उत्पादित रोबोट प्रयोग गर्न थाल्यो। प्रा. डा. वैद्यका कान्छा छोरा डा. सरोजले सोही अस्पतालमा एक वर्ष सर्जिकल रोबोट चलाउने तालिम लिएका थिए। डा. सरोजले नै राजीव गान्धी क्यान्सर अस्पतालमा जडित रोबोट अवलोकन गर्न आफ्ना बुवा प्रा. डा. वैद्य र बी एन्ड बीका अर्का संस्थापक डा. बाँस्कोटासँग आग्रह गरे।
सोही क्रममा काठमाडौँमा सम्पन्न एक कन्फरेन्समा सहभागी हुन ‘एसएसआई मन्त्र’का सीओओ डा. विश्व श्रीवास्तवसँग डा. नीरजलाल वैद्यको परिचय भयो। उनले नै डा. नीरजलाई एकपटक भारत आएर आफ्नो कम्पनीबाट उत्पादित रोबोट अवलोकन गर्न आग्रह गरे।
खासमा, रोबोट खरिद गर्नुभन्दा महत्त्वपूर्ण त्यसको अपरेसन कस्ट हो। त्यसका औजार रिप्लेस गरिरहनुपर्छ। त्यसलाई प्राविधिक भाषामा ‘कन्जुमेबल वेज’ भनिन्छ। एउटा अपरेसन गरेपछि त्यसमा प्रयोग भएका कतिपय औजार फेरि काम लाग्दैनन् र फाल्नुपर्छ। अर्को अपरेसन गर्दा फेरि नयाँ सामान प्रयोग गर्नुपर्छ। ‘एसएसआई मन्त्र’का रोबोटमा कन्जुमेबल वेजको मूल्य आधा नै कम बनाउन कम्पनीले सफलता प्राप्त गर्यो। किनकि, त्यस्ता सामानको मूल्य बिरामी र उसका आफन्तले बेहोर्नुपर्छ।
डा. श्रीवास्तवको आग्रह स्विकार्दै प्रा. डा. वैद्य, डा. नीरज र डा. सरोज वैद्य उक्त कम्पनीका रोबोट अवलोकन गर्न भारत पुगे। उनीहरूले कम्पनीमै पुगेर ‘एसएसआई मन्त्र’ रोबोट चलाएर हेरे। उनीहरू स्वदेश फर्किए र बी एन्ड बी अस्पतालको बोर्ड बैठकमा आफ्ना अनुभव सेयर गरे। उनीहरूको अनुभव सुनेपछि बोर्ड बैठकले रोबोट खरिद गर्ने निर्णय लियो। र, खरिद प्रक्रिया अगाडि बढ्यो। अनि सबै प्रक्रिया पूरा भएपछि अन्ततः बी एन्ड बी अस्पतालमा सर्जिकल रोबोट भित्रियो।
के रोबोटले नै गर्छ अपरेसन?
डा. नीरजका अनुसार रोबोट अपरेसन गर्ने साधन मात्र हो। सबै काम चिकित्सकले नै गर्ने हो। कुनै प्रोग्रामिङ गरेर रोबोटले आफैँ अपरेसन गर्ने होइन। सम्बन्धित विधाका सर्जन कन्सोल अगाडि बस्छन्। र, सर्जनले अपरेसन चलाउँछन्। खाली, हात मात्र रोबोटले चलाउँछ। ‘अर्थात्, शल्य चिकित्सक बिरामीसँग अपरेसन टेबलमा बस्छ। र, रोबोटको सहायताले अपरेसन गर्छ,’ डा. नीरज भन्छन्, ‘रोबोटबाट एकदमै एक्युरेट अपरेसन हुन्छ।’
जस्तो- मानिसका आँखाले देख्न असहज हुने शरीरको गहिरो ठाउँमा पनि रोबोटबाट देख्न सहज हुन्छ। ‘गहिरो ठाउँमा पनि छाला र टिस्युहरू उठाउने, सिलाउनेजस्ता काम रोबोटले सहजै गर्न सक्छ,’ डा. नीरज भन्छन्। उनका अनुसार रोबोटमार्फत शल्यक्रिया गर्दा ‘ब्लड लस’कम हुन्छ। ‘रोबोटका हात ३६० डिग्रीसम्म चल्छन्। त्यसैले जतिसुकै जटिल अपरेसन पनि सहजै हुन सक्छ,’ डा. नीरज भन्छन्, ‘एउटा साधारण अपरेसन गर्न पनि १०-१२ साता अस्पताल बस्नुपर्ने अवस्थाबाट अब रोबोटमार्फत अपरेसन गर्दा बढीमा ३-४ दिन मात्र बसे पुग्छ।’
घण्टौँ उभिएर ढाड दुखाई-दुखाई अपरेसन गर्नुपर्ने सर्जनले अब आराम पाउने भए। कम्प्युटर स्क्रिन अघिल्तिर कुर्सीमै बसी अपरेसन हुने भयो अब। अपरेसनमा पूर्ण विश्वसनीयता हुने भयो। अनि अपरेसनका क्रममा बिरामीको ‘ब्लड लस’ पनि कम हुने भयो।
बी एन्ड बी अस्पतालमा दुई साताको तालिम सञ्चालन गरियो, सर्जिकल रोबोट चलाउन। भारतबाट आएका क्लिनिकल, बायोमेडिकल प्राविधिकहरूले बी एन्ड बीका शल्य चिकित्सकहरूलाई सर्जिकल रोबोटमार्फत अपरेसन गर्नेसम्बन्धी तालिम दिइरहेका छन्।
भारतबाट आएका दुईजना प्राविधिकहरूले कसरी ‘डकिङ’ गर्ने, कसरी चलाउने भनेर तालिम दिइरहेका छन्। किनकि, सर्जिकल रोबोट चलाउनुअघि बी एन्ड बीका शल्य चिकित्सकहरू त्यसमा पोख्त हुनु अत्यावश्यक हुन्छ। ‘डकिङ’ भनेको बिरामीलाई अपरेसनमा राखिसकेपछि कसरी रोबोटका हातहरूलाई बिरामीको पेटभित्र कसरी पुर्याउने भन्ने हो। ‘डा. नूतन शर्माले सफलतापूर्वक ३ वटा अपरेसन गरिसक्नुभएको छ,’ डा. नीरज भन्छन्। पाठेघरमा मासु पलाएको एउटा अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई माएमेक्टोमी भनिन्छ। अर्को हिस्टेरेक्टोमी अर्थात् पाठेघर निकाल्ने अपरेसन सफल भएको छ। र, अर्को ओभरीभित्र दुईतिर पलाएका पानीका फोका निकाल्ने अपरेसन पनि सफलतापूर्वक सम्पन्न भएको छ। र, अपरेसन गरिएका बिरामी डिस्चार्ज पनि भइसकेका छन्।
प्रा. डा. वैद्यका अनुसार सफलतापूर्वक गरिएको रोबोटिक राडिकल प्रोस्टेटेक्टोमी (प्रोस्टेटको क्यान्सरको सर्जरी)को बिरामीलाई भोलिपल्ट नै पोस्ट अपरेटिभ वार्डबाट जनरल वार्डमा सारिसकिएको थियो। ‘उहाँ आफैँ हिँड्न, खान सक्ने हुनुहुन्छ। त्यसको लागि युरोलोजिस्ट डा. अनिल श्रेष्ठ र डा. सरोज वैद्यलाई बधाई दिन चाहन्छु,’ उनी भन्छन्।
अस्पताल बस्दाको खर्च पनि त्यसैमा जोडिने भएकाले बिरामीलाई सस्तो मूल्यमै अपरेसन गराउन बी एन्ड बी अस्पताल सफल भएको छ। एक हिसाबबाट हेर्दा बी एन्ड बी अस्पतालमा रोबोटबाट शल्यक्रिया सफल भइसकेको छ। र, भविष्यमा बिरामीले कम मूल्यमा उच्चस्तरीय सेवा पाउने निश्चित भइसकेको छ। ‘रोबोटको सहायताबाट अपरेसन गरेका बिरामीहरू एकदमै खुसी छन्,’ डा. नीरज भन्छन्, ‘भविष्यमा हर्निया, आन्द्रा, क्यान्सर, प्रोस्टेट, मिर्गौलाका सर्जरीहरू रोबोटमार्फत नै गर्ने योजना बनाएका छौँ।’
उनका अनुसार भारतबाट एकजना प्रोक्टर बोलाइएको छ। उनले छेउमा बसेर बी एन्ड बीका शल्य चिकित्सकहरूलाई रोबोटमार्फत अपरेसनका लागि गाइड गर्ने छन्।
भारतमा पनि ‘मन्त्र’ ब्रान्डका झन्डै ५० वटा रोबोट इन्स्टल भइसकेका छन्। ‘एसएसआई मन्त्र’ कम्पनीको पहिलो अन्तर्राष्ट्रिय इन्स्टलमेन्ट नेपालमा भएको छ। बङ्गलादेश, श्रीलङ्का र साउदी अरेबियामा सर्जिकल रोबोट इन्स्टलमेन्टका लागि कम्पनीलाई माग आएको छ। अन्य सबै मुलुकलाई उछिन्दै पहिलो अन्तर्राष्ट्रिय इन्स्टलमेन्ट नेपालमा गराउन बी एन्ड बी सफल भएको छ। ‘पहिलो अन्तर्राष्ट्रिय इन्स्टलमेन्ट र सफलतापूर्वक काम सुरु भएको नेपालमै हो,’ डा. नीरज भन्छन्।
उनका अनुसार अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले पहिलोपटक सर्जिकल रोबोटको प्रयोग गरेको थियो। सर्जिकल रोबोटको प्रयोग हुन थालेको धेरै समय भएको छैन। यसको इतिहास झन्डै दुई दशकको मात्र छ।
‘एसएसआई’ कम्पनीले सुरुमा मुटुको शल्यक्रियाका लागि रोबोट निर्माण गरेको थियो। कम्पनीका सीओओ डा. विश्व श्रीवास्तवका बुवा हुन्, डा. सुधीर श्रीवास्तव। डा. सुधीरले मुटुको भल्भ फेर्ने प्रयोजनका लागि ‘मन्त्र’ ब्रान्डका रोबोट निर्माण थालेका थिए। धेरै ‘कार्डियाक सर्जरी’मा सफलता पाएपछि उनले अन्य सर्जरी पनि गर्न सकिन्छ भनेर मन्त्र ब्रान्डका रोबोटहरूको निर्माण गराएका हुन्।
‘कार्डियो सर्जरीमा यो ब्रान्डका रोबोटहरू अत्यधिक सफल मानिन्छन्,’ डा. नीरज भन्छन्। उनका अनुसार पेटभित्रको शल्यक्रिया तथा नाक, कान, घाँटीको अपरेसनमा पनि यो सफल रोबोट हो। श्वासप्रश्वास नलीको पछाडिका क्यान्सरहरूको शल्यक्रियामा पनि मन्त्र ब्रान्डका रोबोट सफल भइसकेका छन्। मुटु, फोक्सो, कलेजो, आन्द्रा, पेट, पाठेघर, ओभरी, एब्डोमिनल क्याभिटीलगायत पेटभित्रबाट हुने सर्जरीमा मन्त्र ब्रान्डका रोबोट सफल भइसकेका छन्। र, निकट भविष्यमै बी एन्ड बी अस्पतालले यी अपरेसनमा नेपालमा चिकित्सकीय क्रान्ति ल्याउँदैछ। ‘यो नेपालका लागि ठुलो उपलब्धि हो,’ डा. नीरज भन्छन्।
कम्प्युटर स्क्रिन अघिल्तिर एकजना सर्जन बस्छन् भने बिरामीलाई सुताइएको अपरेसन टेबलमा अर्का सर्जन रहन्छन्। कम्प्युटर स्क्रिन अघिल्तिर बसेका सर्जनले रोबोटका हात चलाउँछन्। अपरेसन टेबल अघिल्तिर बसेका सर्जनले पोर्ट प्लेसमेन्टमा सघाउँछन्।
अहिले पनि मानिसले नै गर्ने अपरेसनमा दुईजना सर्जन आवश्यक हुन्छ। त्यसैले यो रोबोटले मात्र गर्ने अपरेसन भन्नु भन्दा पनि रोबोटको सहायताबाट गरिने अपरेसन भन्नु उपयुक्त हुने डा. नीरज बताउँछन्।
०००
नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा सर्जिकल रोबोट चलाउने तालिम लिएर आएका डा. सरोज वैद्यका अनुसार संसारभर यसको सबैभन्दा बढी प्रयोग युरोलोजीमा हुने गरेको छ। यस्तै, पेट र आन्द्रासम्बन्धी जीआई सर्जरीमा रोबोटको प्रयोग व्यापक छ। क्यान्सर र स्त्रीरोगमा पनि रोबोट सर्जरी संसारभर बढ्दो छ। त्यसपछि ‘हेड एन्ड नेक’ अर्थात् नाक, कान, घाँटीसम्बन्धी रोगको शल्यक्रियामा पनि रोबोट सर्जरी बढ्दो छ।
बी एन्ड बिमा जडित रोबोटले हाडजोर्नी र नसासम्बन्धी शल्यक्रिया गर्दैन। तथापि, न्युरो र अर्थोपेडिक्सका लागि पनि अलग-अलग रोबोट बनिरहेकै छन्। ‘पहिलेको जमानामा ओपन सर्जरी हुन्थ्यो, चिरेर अपरेसन गरिन्थ्यो। त्यसपछि प्रविधि परिवर्तन भयो, प्वाल पारेर गर्ने। ल्याप्रोस्कोपी विधि भनियो त्यसलाई,’ डा. सरोज भन्छन्, ‘अब प्रविधि परिवर्तन भएर रोबोटिक प्रविधि आएको छ।’
उनका अनुसार दक्षिण र दक्षिण पूर्वी एसियाका धेरै मुलुकमा सर्जिकल रोबोटको प्रयोग बढ्दो छ। छिमेकी मुलुक भारतका धेरैजसो सेन्टरमा रोबोटको इन्स्टलेसन भइसकेको छ। भारतका २५-३० वटा सेन्टरमा रोबोट इन्स्टल भएका अस्पताल पाइन्छन्। नेपालमा अहिलेसम्म रोबोट सर्जरी सुरु भएको थिएन, जुन बी एन्ड बीले सुरु गरेको छ।
‘हालसम्म धेरैजसो रोबोटिक सर्जरी भएको प्रोस्टेट र पिसाबको थैलीको क्यान्सरमा हो,’ डा. सरोज भन्छन्, ‘धेरैजसो क्यान्सरका केसमा सर्जिकल रोबोट प्रयोग भएको पाइन्छ। जस्तो- मिर्गौलाको क्यान्सर अपरेसनमा पनि रोबोटको प्रयोग बढ्दो छ।’
उनका अनुसार चिरेर अपरेसन गर्नुभन्दा प्वाल पारेर राम्रो र प्वाल पारेर गर्नुभन्दा रोबोटिक राम्रो हो। ‘चिरेर अपरेसन गर्दा घाउ बनाउनुपर्थ्यो। घाउ ठुलो हुन्थ्यो र त्यसको दुखाइ पनि ठुलै हुन्थ्यो। दुखाइका कारण अस्पताल बसाइ लामो हुने भयो,’ डा. सरोज भन्छन्।
ओपन सर्जरी आँखाले हेरेर गर्नुपर्थ्यो, जति देखिन्छ त्यति नै निकाल्ने। ल्याप्रोस्कोपी विधि आएपछि प्वाल पारेर अपरेसन गर्न थालियो। प्वाल पारेर अपरेसन गर्दा दुखाइ कम हुने भयो, अस्पताल बसाइ पनि छोटियो। तर, चिरेरभन्दा प्वाल पारेर अपरेसन गर्दा केही खर्चिलो हुन गयो। गुणस्तरीय काम हुँदा बिरामीलाई आर्थिक भार केही बढ्नु स्वाभाविकै थियो। अब त्यो विधिभन्दा उत्तम प्रविधि आयो, रोबोटिक सर्जरी।
जस्तो- प्रोस्टेटको अपरेसन भनेको युरोलोजीमा ठुलो अपरेसनका रूपमा गनिन्छ। त्यो ५-६ घण्टाको अपरेसन हो। ६ घण्टा लगातार अपरेसन गर्ने सर्जनलाई पनि सहज हुनु आवश्यक थियो। लगातार उभिएर अपरेसन गर्दा थकाइ त हुने नै भयो। त्यसैले अपरेसन गर्ने डाक्टरलाई ‘कम्फर्ट’ हुने तरिका खोज्दै जाँदाको परिणति हो, सर्जिकल रोबोट।
अनि, ६ घण्टासम्म उभिएर गरिएको अपरेसनबाट क्यान्सर कति निकालियो त भनेर हेरिने भयो। ‘रोबोटले अपरेसन गर्दाको सबैभन्दा ठुलो फाइदा भनेको भिजनमा हो। र, रोबोटबाट अपरेसन गर्दा प्रभावकारी हुन्छ,’ डा. सरोज भन्छन्, ‘रोबोटमार्फत देखिएको क्यान्सरजति सबै निकाल्न सकिने भयो।’
उनका अनुसार ओपन र ल्याप्रोस्कोपी सर्जरी गर्दा ‘टु डी भिजन’ मात्र हुन्थ्यो। रोबोटबाट थ्री डी भिजन प्राप्त हुन्छ। अर्को पहुँचको कुरा आउँछ। जस्तो- प्रोस्टेट शरीरको तल्लो भागमा हुन्छ। चिरेर अपरेसन गर्दा त्यो ठाउँमा हेर्न र पुग्न गाह्रो हुन्थ्यो। ल्याप्रोस्कोपीबाट त्यसभन्दा अझ पहुँच बढायो। तर, हात पूरै डिग्रीमा घुमाउन नसकिने भयो। ‘रोबोटका हात भने ३६० डिग्रीमा घुम्ने भए,’ डा. सरोज भन्छन्, ‘भित्र गएर पछाडिसम्म समात्ने, भित्रैसम्म क्यामेरा पुर्याएर जुम गरेर हेर्न सकिने भयो रोबोटबाट। त्यो हिसाबबाट नतिजा उत्कृष्ट आयो रोबोटबाट।’
डा. सरोजका अनुसार बी एन्ड बिमा जडित रोबोटका तीन या चारै हात प्रयोग गरेर सर्जरी हुन्छ। डाक्टरलाई कतिवटा हात आवश्यक हुन्छ भन्ने कुरामा त्यो निर्भर रहन्छ। ती सबै हात डाक्टरकै हातमा कन्ट्रोलमा रहन्छन्। क्यामेरा र वर्किङ पोर्ट सबै डाक्टरकै हातमा हुन्छन्। जस्तो- ल्याप्रोस्कोपिक सर्जरीमा असिस्टेन्टले क्यामेरा समाउँथे भने मुख्य सर्जन अपरेसन गर्थे।
उनका अनुसार क्यान्सरको समस्या देखिँदा बित्तिकै नेपालबाट कम्तीमा सेकेन्ड ओपेनियनका लागि मात्र भए पनि विदेशी अस्पतालमा पुग्ने लहरै छ। र, त्यसले उपचार खर्च पनि अत्यधिक बढाएको छ। कारण- विदेशका अस्पतालमा रोबोटिक सर्जरीको सुविधा उपलब्ध हुन्थ्यो। अब त्यो नेपालमै सम्भव भयो। ‘नेपालका डाक्टरहरूमा कमजोरी छैन, यहाँ पनि राम्रा डाक्टरहरू विगतदेखि नै उपलब्ध थिए। तर, प्रविधि विदेशमा राम्रो भयो। सोही कारण नेपालबाट क्यान्सरका बिरामी विदेश धाउँथे,’ उनी भन्छन्, ‘अब रोबोट पनि आइपुग्यो नेपालमा। नेपालमै प्रविधि छ अब र त्यसका लागि स्वदेशमै सक्षम डाक्टरहरू छन्।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.