दक्षिण कोरियामा समलिङ्गी जोडीलाई अदालतबाट राहत

दक्षिण कोरियामा समलिङ्गी जोडीलाई अदालतबाट राहत

एजेन्सी : दक्षिण कोरियाको सर्वोच्च अदालतले समलिङ्गी जोडीका लागि राज्यबाट स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ।

सर्वोच्च न्यायालयले राज्यको स्वास्थ्य बिमाबाट पति÷पत्नीले प्राप्त गर्ने लाभका लागि समलिङ्गी पार्टनर (साथी) योग्य रहेको सियोल उच्च अदालतको निर्णयलाई सदर गरिदिएको हो।

सर्वोच्चले राष्ट्रिय स्वास्थ्य बिमा सेवाले सो सुङ्ग–वूक र किम योङ–मीनलाई समान जोडीको अधिकार उपलब्ध गराउनुपर्ने फैसला सुनाएको छ। सन् २०१९ मा विवाह गरी सँगै बस्दै आएका यो दम्पतीले समलिङ्गी जोडी भएकै कारण आफ्नो जीवनसाथीले प्राप्त गर्ने लाभहरूबाट वञ्चित गरिएपछि सन् २०२१ मा राष्ट्रिय बिमा एजेन्सी विरुद्ध मुद्दा दायर गरेका थिए।

‘राष्ट्रिय स्वास्थ्य बिमा ऐनमा विशेष गरी समलिङ्गी समूहलाई जनाउने कुनै पनि उपधाराहरू छैनन्, तर यी जोडीलाई लाभबाट वञ्चित गर्नु यौन झुकावको आधारमा गरिने भेदभावलाई स्थापित गर्नु हुनेछ’,प्रधानन्यायाधीश जो हे–डेले भने,‘यो भेदभावपूर्ण कार्य हो जसले, मानवीय मूल्य, मान्यता एवं मर्यादा र खुसी प्राप्त गर्ने अधिकार, गोपनीयताको स्वतन्त्रता र कानुनी समानताको अधिकार उल्लङ्घन गर्दछ।’

के थियो मुद्दा ?

सो र किमले आफूहरूलाई विवाहित जोडी बताउँदै आएका छन् तर उनीहरूको विवाहले दक्षिण कोरियामा कानुनी मान्यता पाएको छैन। उनीहरूले मानिसहरूको विचार परिवर्तन गरी आफूहरूजस्तै अन्य यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूमा साहस जुटाउन मद्दत पुर्‍याउन भन्दै आफ्नो जीवन कथाबारे समाचार एजेन्सी रोयटर्ससँग खुलेर कुराकानी गरेका थिए।

सुङ्ग–वूकले आफ्नो पार्टनर किमलाई चिकित्सा योजनाबाट वञ्चित गरिदिएपछि सरकारी एजेन्सी नेशनल हेल्थ इन्स्योरेन्स सर्भिसविरुद्ध मुद्दा दायर गरेका थिए। यी दुवैलाई पहिले बिमाको लाभभित्र समेटिएको थियो। एजेन्सीका एक अधिकारीले उनीहरूको पहिचानबारे थाहा पाएपछि त्यसलाई अस्वीकार गरिदिए।

समलिङ्गी दम्पतीलाई सधैँ हीन दृष्टिले हेरिने यस देशमा सो र किमले २०१९ मा प्रेमको घोषणा गर्न एउटा समारोह आयोजना गरेका थिए। तल्लो अदालतबाट सन् २०२२ जनवरीमा उक्त जोडीको रिट खारेज भएपछि सियोल उच्च अदालतमा मुद्दा पुगेको थियो। तल्लो अदालतले दुवैलाई छुट्टाछुट्टै भुक्तान गर्नुपर्ने र पतिपत्नीको कभरेजका रूपमा आउन नहुने बताएपछि उनीहरू सर्वोच्च गएका थिए।

खुसीयाली र विरोध

अदालतको पछिल्लो फैसलाले समलिङ्गी व्यक्तिहरूलाई पहिलो कानुनी मान्यता प्रदान गरेको कानुनी जानकारहरू बताउँछन्। ‘अदालतको यो निर्णयसँगै, सार्वजनिक प्रणालीमा समलिङ्गी जोडीहरूको कानुनी हैसियतलाई मान्यता दिइनेछ, त्यसैले उनीहरूको अस्तित्व अझ बढी देखिनेछ भन्ने मलाई लाग्छ’ वकिल चाङ सुह–योनले पत्रकारहरूसँग भने।

सर्वोच्चले फैसला सुनाउनुअघि रूढिवादी क्रिश्चियन समूहका सदस्यहरूले समलिङ्गी परिवारलाई वाहियात भन्दै अदालत बाहिर रयाली निकालेका थिए। उनीहरूले सियोल उच्च अदालतको निर्णयलाई उल्टाउन दबाब दिएका थिए।

तर सर्वोच्चको फैसलापछि इन्द्रेणी छाता बोकेका यस समुदायका मानिसहरूले अदालतबाहिर खुसीयाली मनाए।

गहिरो पितृसत्तात्मक विचारधारा एवं प्रथा कायम रहेको दक्षिण कोरियामा समलिङ्गी विवाहलाई मान्यता नदिइए पनि समलिङ्गी सम्बन्धलाई अपराधीकरण पनि गरिएको छैन। तर लैङ्गिक समानतालाई लिएर सङ्घर्ष गरिरहेको दक्षिण कोरिया लैङ्गिक असमानताका लागि संसारका देशहरूमा निरन्तर अगाडी रहँदै आएको छ।

दक्षिण कोरियाली समाजमा लैङ्गिक असमानताको विषय जोडदार रूपमा उठ्दै आएको छ। ताइवान, नेपाल र थाइल्यान्डमा समलिङ्गी विवाहलाई वैधानिकता दिने अभियान सफल भए पनि दक्षिण कोरियामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक साझेदारीलाई कुनै मान्यता दिइएको छैन।

दक्षिण कोरियाका रूढिवादी धार्मिक समूहहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारलाई बढवा दिने कानुनहरू पारित गर्ने प्रयासको चर्को प्रतिरोध गर्दै आएका छन्, जसले गर्दा समान मान्यता र स्वीकार्यताको लागि सङ्घर्षरत धेरै मानिसहरूलाई कार्यस्थलमा आफ्नो पहिचान लुकाउन प्रेरित गर्दछ। कानुनी रूपमा विवाह गर्न चाहने समलिङ्गी जोडीहरू विदेश जान बाध्य हुन्छन्।

जापानमा तेस्रो लिङ्गी महिलाको पक्षमा फैसला

वैवाहिक समानता : थाइल्यान्डका व्यवसायीहरू ‘पिंक भाट’ कमाउन उत्सुक

भारतमा समलिङ्गी : न विवाहको मान्यता, न धर्मपुत्र राख्ने अधिकार

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.