विपद्का घटनामा गृहमन्त्री नै अनभिज्ञ, संसदमा बासी तथ्याङ्क प्रस्तुत

विपद्का घटनामा गृहमन्त्री नै अनभिज्ञ, संसदमा बासी तथ्याङ्क प्रस्तुत

काठमाडौं : सुरक्षा निकायको कमान्ड सम्हालेका गृहमन्त्री रमेश लेखक सुरक्षा निकायकै सूचनामा अनविज्ञ देखिएका छन्। गृहमन्त्री लेखकले सांसदहरूलाई विपद्का घटनाको त्रुटिपूर्ण तथ्याङ्क प्रस्तुत गरेर पङ्गु बनाएका छन्।

तीन दिन अघिको तथ्याङ्क प्रस्तुत गरेर गृहमन्त्री लेखकले विपद्का घटनामा हालसम्म भएको जनधनको क्षतिबारे आफू अनभिज्ञ रहेको पुष्टि गरेका हुन्। प्रहरी प्रधान कार्यालयले हिजो सोमबारसम्मको तथ्याङ्कमा १३१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो।

मनसुनी वर्षाका कारण आएको बाढी पहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता मङ्गलवारसम्म एक सय ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तर, गृहमन्त्री लेखकले भने मङ्गलवारको प्रतिनिधि सभा बैठकमा हालसम्म १३० जनाको मृत्यु भएको विवरण सुनाए।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता छन्। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले विपद्मा परेका ६७ जनाको उद्धार गरिएको जानकारी दिए।

विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन्। तर, गृहमन्त्री लेखकले यस वर्षको मनसुन भित्रिएदेखि हालसम्म भएको क्षतिबारे सदनलाई जानकारी गराउने क्रममा प्रहरीले ३ दिन अघि सार्वजनिक गरेको बासी विवरण सुनाए।

मनसुनजन्य विपद्बाट ७७ जिल्ला प्रभावित भएको भन्दै गृहमन्त्री लेखकले रेडिमेड जवाफ दिए। लेखकले प्रभावितलाई सरकारले खोज र उद्धार जारी राखेर राहत रकम पनि दिइरहेको बताए।

चितवनको सिमलताल दुर्घटनामा परेकामध्ये २४ जनाको शव भेटिएको उनले बताए। ५ जनाको पहिचान हुन नसकेको र बाँकी ४३ जनाको खोजी जारी रहेको उनले जानकारी गराए।

दश दिनभित्रमा पत्ता नलागे मृतकसरह नै राहत दिने निर्णय गरेकाले त्यसअनुसार राहत पाउने उनले बताए। बेपत्ताको खोजीका लागि भारतीय गोताखोरको टोलीले खोजी जारी राखेको भन्दै गृहमन्त्री लेखकले दैनिक ३६८ सुरक्षाकर्मी २४ सै घण्टा खटिएको जानकारी दिए।

विपद्का घटनामा पुरानै तथ्याङ्क प्रस्तुत गरेका गृहमन्त्री लेखकले गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी पनि गराए।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा आइतबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मङ्गलवार गृहमन्त्री लेखकले मधेस प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका हुन्।

गृहमन्त्री लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको भन्ने विषयमा पनि तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए। घुस प्रकरणमा पाठ्यक्रम विकास केन्द्रले शाखा अधिकृतलाई निलम्बन गरेकोबारे पनि गृहमन्त्री अनभिज्ञ देखिए।

सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले ५ हजार रुपैयाँ घुस लिएको आरोप लागेका समकक्षता शाखामा कार्यरत शाखा अधिकृतलाई जिम्मेवारीबाट हटाइसक्दा पनि गृहमन्त्री लेखक अपडेट नभएको पाइएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो घटनामा छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरी एक साताको कार्यादेश दिएको छ।

तर, गृहमन्त्री लेखकले विपद्का घटनामा जस्तै आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग घुस लिने मान्छे चिनाउनका लागि सहयोग गर्न आग्रह गरेको सुनाउँदै छानबिन गर्ने प्रहरीलाई निर्देशन दिएको बताए।

लेखकले गृह मन्त्रालयको बागडोर सम्हाले पनि सुरक्षा निकायसँग निरन्तर समन्वय नगरेको उनी आफैले प्रस्तुत गरेका तथ्याङ्कले देखाएको छ। दैनिक हुने घटनामा गृहमन्त्री यसरी अपडेट नहुने चिन्ताको विषय भएको सुरक्षा जानकारहरू बताउँछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.