सौर्य एयरको हेलचेक्र्याइँले १८ जनाको मृत्यु, जाँचबुझ आयोग गठन

सौर्य एयरको हेलचेक्र्याइँले १८ जनाको मृत्यु, जाँचबुझ आयोग गठन

काठमाडौं : हेलचेक्र्याइँ र लापरबाहीका कारण काठमाडौँबाट पोखराका लागि उडाइएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा चालक बाहेक सबै यात्रुको मृत्यु भएको छ।

बुधवार बिहान ११ बजे उड्ने बित्तिकै दुर्घटना भएको विमानमा सवार १९ मध्ये चालक बाहेक सबैको मृत्यु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे विमान दुर्घटनास्थल पुगे भने सामाजिक सञ्जालमा विमान दुर्घटनाको भिडियो र तस्बिर भाइरल भए।

मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको विमान उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटना भएको हो।

विमान दुर्घटनासँगै जलेका १८ जनाको शव सङ्कलन गरेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

सबै शवको पोस्टमार्टम गर्न तीन दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ। एउटा शवको पोस्टमार्टम गर्न चार घण्टा लाग्ने र अन्य अस्पतालबाट पनि चिकित्सक बोलाइएको फरेन्सिक विभाग प्रमुख गोपालकुमार चौधरीले जानकारी दिए।

विमानका चालक क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विन निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ। दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको पाइएको छ।

सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको ज्यान गएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन।

यसैगरी अमितमान महर्जन, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकर, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, सन्तोष महतो, पुन्यरत्न साही र को पाइलट सुशान्त कटवालको मृत्यु भएको छ। यस्तै एक जना एमनी नागरिक आरिफ रेडाको पनि ज्यान गएको छ।

जाँचबुझ गर्न आयोग गठन

सरकारले सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ। आकस्मिक रूपमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व–महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वारचन, पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्।

एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डङ्गोललाई आयोगको सदस्य सचिव तोकिएको छ। आयोगलाई जाँचबुझ गर्न ४५ दिनको कार्यादेश दिइएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ्गले जानकारी दिए।

आगामी दिनमा दुर्घटना हुन नदिन जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राविधिकले नियमित अनुगमन गर्ने निर्णय पनि गरेको गुरुङले जानकारी दिए। बैठकले साउन १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए।

सिसीटिभी फुटेज हेर्दा जहाज बायाँ मोडिएर ढल्किएको र एउटा पङ्खा जमिनमा जोतिँदै केही पर पुगेर खाल्डोमा खसेको देखिएको छ। भिडियो हेर्दा उडान गर्ने बित्तिकै जहाजले जति उचाइ लिनुपर्ने हो त्यो लिन सकेको देखिँदैन।

त्यसमाथि पनि देशका सबै विमानस्थलमा रहेका जहाजहरू मर्मत गर्नुपरे काठमाडौँ ल्याइन्छ। तर सौर्य एयरको जहाज भने मर्मतका लागि भनेर काठमाडौँ छाडेर पोखरा लान खोज्दा दुर्घटना हुन पुगेको छ।

दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। एयरलाइन्सले सबै यात्रु कर्मचारी भनेर पनि ढाटेको छ। सौर्य एयरलाइन्सको गम्भीर लापरबाहीका कारण मृतक यात्रुका परिवार र आफन्तमा रुवावासी चलेको छ।

नेपालमा सन् १९५५ यता १०७ वटा हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा ९५९ जनाको मृत्यु भएको छ। गत वर्ष सन् २०२३ को जनवरी १५ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहाप्रबन्धक देवेन्द्र केसीले तत्काल उद्धारको काममा विमानस्थलको भूगोलले कठिनाइ भएको बताए।

काठमाडौँ विमानस्थलमै भएको दुर्घटनाको छानबिन गर्न सरकारले दिएको ४५ दिनको समय बढी भएन र? भन्ने प्रश्नमा उनले अन्तर्राष्ट्रिय राष्ट्रिय मापदण्ड अनुसार छानबिन गर्नुपर्ने भएकाले डेढ महिनाको समय दिइएको हुनसक्ने जवाफ दिए।

गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद थपिएको थियो। यसअघिका कयौँ दुर्घटनाबारे आधिकारिक जानकारी नै लिन नसकिएको बताउँदै उनले जहाज दुर्घटनाको छानबिनलाई सामान्य रूपमा लिन नहुने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.