प्रतिपक्षी दलहरू संविधान संशोधन गर्न तयार

प्रतिपक्षी दलहरू संविधान संशोधन गर्न तयार

काठमाडौं : प्रतिपक्षी दलहरू संविधान संशोधन गर्न तयार भएका छन्। काँग्रेस र एमालेले मिलीजुली सरकार गठन गरेसँगै सरकारबाट बाहिरिएका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा रहेको बताएका हुन्।

तर, संविधान संशोधनका नाममा प्रतिगमनमा लैजाने दुस्साहस भने नगर्न उनीहरूले खबरदारी गरेका छन्। संविधानको धारा २६५ मा संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछि पुनरावलोकन गर्ने व्यवस्था छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विरोध नगरेको प्रष्टीकरण नै दिए।

संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी प्रचण्डले दिए। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएकाले मात्र विरोध गरेको बताए।

समानुपातिक पद्धतिमा थ्रेस होल्ड बढाएर दुई दलीय प्रणाली लागू गर्ने प्रयास काँग्रेस र एमालेले गरेको प्रचण्डको शङ्का छ। प्रचण्डलाई सत्ता गुमाउनु परेको पीडाले आक्रोशित समेत बनाएको छ। प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनु परेको जिकिर समेत गरे।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्का गरे।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने दुई दलले संविधान संशोधनका नाममा सत्ता स्वार्थ पुरा गरेको आरोप लगाए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशका मूलभूत मुद्दालाई केन्द्रित गरेर अगाडी बढ्न नसक्दा देश अफ्ठेरोमा परेको उल्लेख गरे। कम्युनिस्ट पार्टी भनाउदाहरु कमाऊ धन्दामा लागेको बताउँदै उनले संविधान संशोधन मार्फत संसदीय प्रणालीलाई नै बदल्नु पर्ने सुनाए।

सोही कार्यक्रममा एमाले नेता भीम रावले अहिलेको राजनीति आफूले बुझ्नै नसकेको बताए। आफ्नो पार्टीको नारा लगाउने तर भोट अर्कै पार्टीलाई माग्ने प्रवृत्तिले आफू चकित परेको रावलले उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.