काँग्रेसमाथि रास्वपाको हमला, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को जुहारी

काँग्रेसमाथि रास्वपाको हमला, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को जुहारी

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड सरकार ढालेर सत्तामा पुगेको नेपाली काँग्रेसमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हमला सुरु गरेको छ।

सहकारी प्रकरण उछालेर पार्टी सभापति रवि लामिछानेलाई घेराबन्दीमा पारेको काँग्रेसले अहिले मानव बेचबिखनको आरोप लागेका र ज्यानमार्ने धम्की खेपेकालाई प्रदेशको मन्त्री बनाएको भन्दै नैतिकताको प्रश्न उठाएको हो।

लुम्बिनी प्रदेशमा एमालेसहितको सरकारमा काँग्रेसले बादशाह कुर्मीलाई मन्त्री बनाएको छ। कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ। राजनीतिक आडमा बादशाहमाथि अनुसन्धान नभएको भन्दै २०७८ असोजमा बाँकेका १४ जना अधिकारकर्मीले काठमाडौँसम्म तीन साता पैदल यात्रा गरेका थिए।

उनीहरूको धर्नापछि गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले अनुसन्धान सकेर २०७८ कात्तिक १४ मा बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो।

बादशाह र उक्त प्रतिवेदन बुझ्ने तत्कालीन गृहमन्त्री खाँण मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालगायत आफ्ना मान्छे जोगाउन अहिलेको सरकारले डिआइजी मनोज केसीको सरुवा गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद हरि ढकालले काँग्रेस महामन्त्रीलाई बोल्न चुनौती दिए।

जवाफमा काँग्रेस महामन्त्री शर्माले सङ्घीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्मा स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाएपछि प्रश्न उठ्नु स्वाभाविक भएको बताए।

लुम्बिनीमै मन्त्री बनेकाहरू मात्र होइन सङ्घ सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका दीपक खड्कामाथि पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्टको प्रश्न उठेकोतर्फ सङ्केत गर्दै महामन्त्री शर्माले सचेत हुनुपर्ने बताए।

व्यवसायी समेत रहेका काँग्रेस सांसद खड्काको जलविद्युत् आयोजनाहरूमा लगानी छ। केही आयोजनाले बाढीले क्षति पुर्‍याएको भनेर सरकारसँग क्षतिपूर्ति माग गरिरहेका बेला खड्का मन्त्री बनेको आरोप छ।

१२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् परियोजनाको प्रवर्द्धक रहेका खड्का माथिल्लो पिलुवा खोला जलविद्युत् आयोजनाका पनि लगानीकर्ता हुन्। साथै मन्त्री खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा अपचलन गरेको आरोपसमेत छ।

काँग्रेसबाट मन्त्री बनेकाहरूको नैतिकतामा प्रश्न उठेपछि महामन्त्री शर्माले भने अघिल्ला गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खालेको २४ घण्टामा सरकार ढालियो भनेर झुट बालेको आरोप लगाए।

महामन्त्री शर्माले लुम्बिनी प्रदेशमा सङ्घीयताको मर्मलाई हेक्का राख्न नसकिएको भनेर एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र आचार्यको नेतृत्वमा गठित सरकारमा मन्त्री छनोटतर्फ सङ्केत गरे। पार्टीको प्रदेश कमिटीको नभएर केन्द्रीय नेताहरूको आग्रह लागू भएको भनेर काँग्रेस र एमाले दुवै दलभित्र प्रश्न उठेको छ।

त्यतिमात्र होइन महामन्त्री शर्माले दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धन दुईवटा फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित हुन नदिन गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अघि बढाउनुपर्ने माग पनि गरे।

माओवादीको मिसन ८४

नेकपा माओवादी केन्द्रले मिसन ८४ सुरु गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने गरी छलफल चलिरहेको बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरू प्रतिपक्षीमा पुगेसँगै पार्टी सङ्गठन सुदृढीकरण र विस्तारको अभियानमा लागेको सुनाए।

१८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अहोरात्र काम गरेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले आफू सरकारबाट बाहिरिए पनि जितेको र काँग्रेस एमाले सरकारमा जाँदा पनि हारेको टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.