स्वास्थ्यमन्त्री पौडेलको योजना : परम्परागत पद्धति तोड्ने, अङ्ग प्रत्यारोपणको सेवा विस्तार गर्ने

स्वास्थ्यमन्त्री पौडेलको योजना : परम्परागत पद्धति तोड्ने, अङ्ग प्रत्यारोपणको सेवा विस्तार गर्ने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले परम्परागत पद्धति तोड्ने बताएका छन्। सेवाका आधारमा संंघीय अस्पतालहरूको वर्गीकरण गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना मन्त्री पौडेलले सुनाए।

समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलको योजना छ। सबैखाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने उनको चाहना छ।

चिकित्सकलाई कार्य दक्षताको आधारमा भत्ता र सङ्घीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभको व्यवस्था गरिने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बताए।

सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपणको सेवा

मन्त्री पौडेलले राजधानी काठमाडौँमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने घोषणा गरे। उनले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शैय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाए।

शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गङ्गालालमा प्राथमिक एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने मन्त्री पाण्डेले घोषणा गरे। सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उनले बताए।

मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने बताए। वैदेशिक वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले बताए। उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणा गरे।

निरोगी नेपाल: आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम

मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ। देशमा बढिरहेको मिर्गौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मिर्गौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले बताए।

मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाए। अहिले अभाव देखिएको श्रोत वृद्धिको योजना पनि सुनाए।

प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा श्रोत थप हुने विश्वास मन्त्री पौडेलको छ। ‘केहीमा श्रोत सुनिश्चित छैन,’उनले भने,’तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ।’

मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा कर वृद्धि गरेर पनि श्रोत थप्न सकिने बताए। आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालीन योजना क्रमैसँग कार्यान्वयनमा जाने उनले जानकारी गराए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.