काँग्रेस बैठकमा गुट चलाएकै नेताहरूले लगाए एकताको नारा

काँग्रेस बैठकमा गुट चलाएकै नेताहरूले लगाए एकताको नारा

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पैसाले पार्टी र देश नै कब्जा गरेको बताएका छन्। पैसाले अहिले मान्छेको दिमाग मात्र नभएर समाज, सम्बन्ध र व्यवस्थालाई निल्न लागि सकेको उनीहरूले बताए।

काँग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचन प्रणालीलाई पैसाको प्रभावबाट अलग गरेर सुधारको बाटो समात्न ढिलो गर्न नहुने सदस्यहरूले सुझाव दिएका छन्।

काँग्रेस बैठकमा चर्चित यति ओम्नी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्डबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ।

काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाउन पहल गर्नुपर्ने प्रस्ताव नै गरेका छन्। बैठकमा पार्टी भित्र आफू अनुकूल गुट चलाउँदै आएका नेताहरूले नै एकताको नारा पनि घन्काएका छन्।

भदौ ७ गते बस्ने गरी स्थगित भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा गुट चलाउँदै पार्टी राजनीतिमा एकअर्कालाई निषेध गर्दै आएका नेताहरूले नै एकताको नारा घन्काएका हुन्। काँग्रेसमा गुट उपगुट, अन्तर्घात सामान्य बन्दै गएकोमा केही नेताहरूले चिन्ता व्यक्त गरेका छन्।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको पक्षविपक्षमा नेताहरूले दिएको अभिव्यक्तिले नै गुटलाई प्रश्रय दिइरहेको पुष्टि हुँदै गएको छ। काँग्रेसले प्रस्ताव गरेको सय दिने साङ्गठनिक अभियानले गुट बाइबाई, एकजुट हाइहाइ गर्न उत्प्रेरित गर्ने केन्द्रीय सदस्यहरूले बताए।

अनुशासनको कारबाही गर्दा सानालाई ऐन, ठुलालाई चैन हुन नहुने केन्द्रीय सदस्य आचार्यले बताए। उनले तल्ला तहबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर पठाएमा संसदीय समितिलाई अनुशासनको कारबाही हुन्छ कि हुँदैन? भनेर प्रश्न गरे।

काँग्रेस काभ्रेका पूर्वसभापति समेत रहेका आचार्यले पार्टीभित्र निषेधको राजनीति गर्ने पदाधिकारीमाथि अनुशासनको दण्ड लाग्छ कि लाग्दैन भनेर पनि सोधे।

आचार्यले गुट अन्त्य गर्न भनिरहँदा उनले नै अन्तर्घात गर्दा काभ्रे काँग्रेसका अर्का पूर्वसभापति शिवप्रसाद हुमागाईँ संसदीय चुनावमा पराजित भएको आरोप समेत लागेको छ। काँग्रेस काभ्रेले आचार्य, गणेश लामा सहितका नेताहरूलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस नै गरेको थियो।

केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले भने काँग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको बताएका छन्। चौधरीले ८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको बताए। उनले कुन पार्टीले निजी क्षेत्रको आकाङ्क्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको बताए।

बिमा सुधार कार्यक्रमलाई अपनत्व लिन मन्त्री पौडेलको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भने मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।

काँग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे।

उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउने निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे।

मन्त्री पौडेलले भने, ‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको बिमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु।’

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए। ‘नसर्ने रोगको औषधि मूल्य आकासिएको छ,’उनले भने,‘त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु।’

बैठक स्थगित

६ दिनदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक ११ दिनका लागि स्थगित भएको छ। यही साउन १३ गतेदेखि जारी बैठकले पार्टीका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्म जयन्तीको अवसरमा उच्च सम्मान तथा श्रद्धासुमन अर्पण गर्दै स्थगित गरिएको हो।

स्वर्गीय कोइरालाको जन्म वि.सं. १९९६ साउन २८ गते भएको थियो। सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधान सभाबाट नेपालको पहिलो संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उनले निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको काँग्रेसले बताएको छ।

बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ ७ गते बिहान ११ बजे फेरी बस्ने गरी स्थगित गरिएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

सोमबार बसेको काँग्रेस बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी.साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा वि।क।र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि बैठकमा आफ्नो धारणा राखेका काँग्रेसले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.