निजामती सेवा दिवस : सर्वोत्कृष्ट कर्मचारी गायब

निजामती सेवा दिवस : सर्वोत्कृष्ट कर्मचारी गायब

काठमाडौं : सरकारले हरेक वर्ष जस्तै यो वर्ष पनि निजामती सेवा दिवस तामझामका साथ मनाएको छ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र दिवस मनाएको सरकारले यस वर्ष ४० जना कर्मचारीलाई पुरस्कृत गरेर औपचारिकता पुरा गरेको छ।

८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी नदेखेको सरकारले निजामती सेवा दिवसकै दिन शनिवार मात्रै पुरस्कार पाउने ४० जना कर्मचारीको सूची सार्वजनिक गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिंहदरबारमा आयोजित कार्यक्रममा एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशिको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरे।

हाल देशभर करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। तीमध्ये पुरस्कृत हुने ४० जना मध्यकी एक हुन्, दार्चुला जिल्ला प्रशासन कार्यालयको नेतृत्व पङ्क्तिमा रहेकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद।

कञ्चनपुरमा जन्मिएकी साउँदले वि.सं.२०६८ सालमा पहिलो प्रयासमै सहलेखापालबाट सेवा प्रवेश गरेकी थिइन। उनले सेवा प्रवेश गर्दाको दुख पुरस्कृत हुन पाउँदा खुसीमा परिणत भएको सुनाइन।

२०७३ सालमा शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। २०७४ सालयता २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट कर्मचारी भनेर कसैलाई पनि छानिएको छैन। पूर्वसचिव रामेश्वर खनाल सरकारको नजर नपुग्दा सर्वोत्कृष्ट कर्मचारी पाउन नसकेको बताउँछन्।

प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने सन्तुष्ट छैनन्। समाजमा राजनीतिक नेतृत्वसँग मिलेर सरकारी कर्मचारीले घुस खान्छन् भन्ने मान्यता बलियो हुँदै गएको छ।

यस्तो अवस्थामा कर्मचारीसामु सप्रिने कि सकिने भन्ने विकल्प मात्रै बाँकी छ। जनतालाई सेवा राम्रो नदिने तर तलब वृद्धिको माग गरिरहने कर्मचारीलाई प्रधानमन्त्री ओलीले २५ पैसा पनि बढाउन नसक्ने जवाफ दिएका छन्।

कर्मचारी प्रशासनको नेतृत्वमा रहेका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा विधेयक पास नहुँदा निजामती सेवा प्रविधिमैत्री, सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन नसकेको बताएपछि प्रधानमन्त्री ओलीले छिटै पारित हुने बताए।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भने कर्मचारीहरूले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए।

raj kumar 1

नेता र सरकारको काम भाषण गर्नेमा बढी देखिन्छ। नागरिकलाई डेलिभरी दिने कर्मचारीले हो तैपनि राजनीतिकर्मीले आफूले गर्न नसकेको कामको दोष कर्मचारीमाथि थोपर्ने गरेका छन्।

नेपाल सरकारका पूर्वसचिव खेमराज रेग्मी कर्मचारीतन्त्रको पुनर्संरचना गर्नेभन्दा पनि राष्ट्रप्रति बफादार, सबल र सक्षम राजनीतिक नेतृत्व भए प्रशासन मात्र होइन देशकै मुहार बदलिने बताउँछन्।

khemraj regmi 1

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.