प्रधानमन्त्री ओलीसँग भारतका समकक्षी मोदी र भुटानका तोब्गेको भेट, वृहत् अन्तरक्रिया कार्यक्रम रद्द

प्रधानमन्त्री ओलीसँग भारतका समकक्षी मोदी र भुटानका तोब्गेको भेट, वृहत् अन्तरक्रिया कार्यक्रम रद्द

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले छिमेकी भारत र भुटानका समकक्षीसँगै कुवेतका राजकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, भुटानका छिरिङ तोब्गे र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग छुट्टाछुट्टै भेट गरेका हुन्। प्रधानमन्त्री ओलीले मोदीसँगको भेटपछि भेटवार्ता सकारात्मक भएको बताए।

भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले दुई मुलुक बीच विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको बताए। चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो।

प्रधानमन्त्री ओली र भुटानका दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको छ। भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताए।

वृहत् अन्तरक्रिया कार्यक्रम भने स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो। त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेका हुन्।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ।

नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो।

दूतावासले प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र सङ्घको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनु परेकोले पनि वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ। महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति दुःख प्रकट गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.