रवि पक्राउको विरोधमा रास्वपा आक्रोशित, पार्टीगत धारणा नबनाउन काँग्रेसको आग्रह

रवि पक्राउको विरोधमा रास्वपा आक्रोशित, पार्टीगत धारणा नबनाउन काँग्रेसको आग्रह

काठमाडौं : प्रहरीले सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउँदैछ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइने भएको हो।

शनिवार बिदाको दिन परेकाले लामिछानेलाई आइतबार कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिने प्रहरीले जनाएको छ। लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गैरकानुनी ढङ्गले आफू सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ।

संसदीय छानबिन विशेष समितिले समेत सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जनाएको छ।

सङ्घीय संसद् सचिवालयले चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने पक्राउ परेको सूचना जारी गरिसकेको छ। फौजदारी कसुरको अनुसन्धानको क्रममा शुक्रवार पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको सांसद पद भने कायम नै रहने प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनका लागि पक्राउ परेको जानकारी दिन मात्र सूचना जारी भएको हो। तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा गए मात्र लामिछानेको सांसद पद निलम्बनमा पर्नेछ।

अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने व्यवस्था नियम २४८ को उपनियम (३) मा छ।

यसअघि नागरिकता विवादमा लामिछानेको सांसद पद गएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी २०८० असार १ गतेबाट निलम्बनमा छन्।

रास्वपाका कार्यकर्ता सडकमा

कानुनी राज्यको ढोङ पिट्दै आएको रास्वपाले भने लामिछाने पक्राउको विरोधमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परे लगत्तै उनका समर्थकहरूले पोखरा र काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन्। रविका समर्थक र कार्यकर्ताहरूले बिना सर्त रिहाइको माग गर्दै सरकार विरुद्ध नाराबाजी गरेका छन्।

आन्दोलनमा सहभागी रास्वपाका नेता एवं सहकारी छानबिन संसदीय समितिका सदस्य समेत रहेका शिशिर खनालले पार्टी सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको बताएका छन्। उनले आवश्यक परे देशव्यापी आन्दोलन थाल्ने चेतावनी पनि दिए।

पोखरामा आयोजित आन्दोलनमा कार्यवाहक प्रवक्ता मनिष झाले आफू सहिद बन्न तयार रहेको बताउँदै भ्रष्टहरूलाई ठिक पार्ने उद्घोष गरे।

रास्वपाका सहायक प्रवक्ता प्रतिभा रावलले सरकारले कानुनी प्रक्रिया स्पष्ट नपारी लामिछानेलाई जबरजस्ती हिरासतमा राख्नु न्यासंगत नभएको बताउँदै सरकारले प्रतिशोध राखेर फसाउन खोजेको आरोप लगाएकी छन्।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि रवि पक्राउको विरोध गरेका छन्। पोखरामा पत्रकार सम्मेलन गर्दै भट्टराईले निर्दोष कसैलाई पनि फसाउन नहुने बताए।

सत्तारुढ दल नेपाली काँग्रेसले रविको पक्राउका विषयमा पार्टीगत धारणा नबनाउन भनेको छ। काँग्रेससँग रविको कुनै दुस्मनी नभएको बताउँदै प्रवक्ता डा.प्रकाशशरण महतले कानुनी पाटोका रूपमा लिन रास्वपाका कार्यकर्तालाई आग्रह गरे।

रवि पक्राउको विरोधसँगै काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको भन्दै सरकारको आलोचना भइरहेको छ। हिजोसम्म रविको काँध थापेको माओवादीको पनि यतिबेला बोली फेरिएको छ।

माओवादी नेता वर्षमान पुन अनन्तले सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई उन्मुक्ति दिन नहुने बताए। रवि पक्राउको विरोध भन्दा पनि काँग्रेस र एमालेमा रहेका सहकारी ठगहरू जोगाउन वर्तमान सरकार लागेको आरोप पुनले लगाए। तर, काँग्रेस प्रवक्ता महतले दोषी भए धनराजलाई कारबाही हुने बताए।

धनराजमाथि पनि अनुसन्धान गर्न सहकारी छानबिन संसदीय समितिले सिफारिस गरिसकेको छ। रवि पक्राउको विरोधमा समाज दुई भागमा विभाजित भएका बेला राजनीतिक विश्लेषकहरूले भने रविका लागि अहिलेको परिस्थित ठुलो अवसर बनेर आएको टिप्पणी गरेका छन्। न्यायिक प्रक्रियामा पुगिसकेको विषयमा अब प्रहरीले चाहेर पनि ज्यादती गर्न नमिल्ने भएकाले रविलाई दोब्बर फाइदा पुग्ने राजनीतिक विश्लेषक देवेश झाको भनाई छ।

लामिछानेसँग पोखरा पुगेका रास्वपाका शीर्ष नेताहरू भने योजना बनाउन भन्दै छलफलमा व्यस्त छन्। उपसभापतिद्धय डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले, बिराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, तोसीमा कार्की, मनिष झालगायतका सांसद पोखरामै छन्। पार्टीका नेता कार्यकर्ता पनि पोखरामा भेला भएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.