घुस बापत जग्गा दान नलिन सुझाव दिने नेताहरूलाई एमालेको स्पष्टीकरण

घुस बापत जग्गा दान नलिन सुझाव दिने नेताहरूलाई एमालेको स्पष्टीकरण

काठमाडौं : नेकपा एमालेले भाटभटेनिका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएकोमा विरोध गर्ने नेताहरूलाई निशाना बनाएको छ।

ललिता निवास जग्गा काण्ड, कर छली लगायत मुद्दाका आरोपी गुरुङबाट दानका रूपमा घुस लिएको आरोप लागिरहँदा गलत निर्णय सच्याउन सुझाव दिने पार्टीकै नेताहरूलाई एमालेले निशाना बनाएको हो।

जग्गा दानका नाममा घुस लिएको भन्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर व्यवसायी गुरुङबाट जग्गा दान लिएको विषयलाई अन्तै मोड्न खोजेको आरोप लगाइरहँदा एमालेले भने आफ्नै पार्टीका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीको गलत निर्णय सच्याउन सुझाव दिने पार्टीका नेता कार्यकर्ता निरीह बनेका छन्। ओलीको बोली नै शासन मानेर एमालेले सुझाव दिने नेताहरूलाई मुख बन्द गर्न लगाएको छ। पार्टी कार्यालय निर्माणका लागि एमालेलाई करोडौँ रुपैयाँको जग्गा दान लिएपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको चौतर्फी आलोचना भइरहेको छ।

एमालेको आइतबार बसेको सचिवालय बैठकले पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिने पार्टीका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए। ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ। पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भमा चलिरहेका छलफल र बहसहरूमा पार्टी निर्णयविरुद्ध जाने पार्टीका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ‚’ उनले भने, ‘लामो समय पार्टी नीतिसँग असहमति राखेर विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ स्पष्टीकरण सोध्ने निर्णय भएको छ।’

महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने जिकिर गरे। यसलाई कानुनी प्रक्रियाबाट सम्बोधन गरिने उनले बताए।

जग्गा दानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले जिकिर गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.