रवि पक्राउसँगै पोखरामा तनाव, बालुवाटारमा ओली-देउवा भेट

रवि पक्राउसँगै पोखरामा तनाव, बालुवाटारमा ओली-देउवा भेट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछाने पक्राउ परे लगत्तै रास्वपाले रमिता देखाएको छ। शुक्रवार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा पुर्‍याएदेखि रास्वपाका कार्यकर्ता भिड जम्मा गरेर रमिता देखाउन थालेका छन्।

उनीहरू पोखरामा अड्डा जमाएर बसेका छन्। पार्टीका पदाधिकारी, सांसदहरू नै घोक्रो सुक्ने गरी चिच्याएर प्रशासन र न्यायालयलाई दबाब दिइरहेका छन्। अनुसन्धानमा सघाउने भनेको रास्वपाले भिडको राजनीति गरेको आरोप लागेको छ।

रास्वपा नेता कार्यकर्ता र सहकारी पीडितको छुट्टाछुट्टै प्रदर्शनले पोखरा तनावग्रस्त बनेको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पार्टीका सभापति पक्राउ परेदेखि नै पोखराका चोकचोकमा शीर्ष नेतासहित सडक आन्दोलनमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकलाई प्रहरीले आइतबार अश्रुग्याँससहित पानीको फोहोरा प्रहार गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रास्वपा कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीसँग हात हालाहालसमेत भएको छ। त्यसक्रममा केही घाइतेसमेत भएका छन्।

पोखरामा भेला भएका रास्वपाका सांसदले आइतबार आँखामा कालोपट्टि बाँधेर धर्ना दिए। पाँच जनाभन्दा बढीलाई निषेधित क्षेत्रमा जम्मा हुन रोक लगाएपछि रास्वपाका सांसद विराजभक्त श्रेष्ठले आफूहरूको शान्तिपूर्ण प्रदर्शनबाट सरकार डराएको प्रतिक्रिया दिए।

संविधान र कानुनलाई चुनौती दिएको रास्वपा वर्तमान सरकारप्रति आक्रामक बनेको छ। हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई घुमाउरो बाटो प्रयोग गरेर उच्च सुरक्षासहित आफ्नै गाडीमा जिल्ला अदालत लगिएको थियो।

प्रहरीले अदालतमा पेस गर्दै गर्दा लामिछानेले अहिलेको सरकारप्रति आक्रोश पोख्दै आफ्नो पक्षमा सडकमा आउन देशवासीलाई अपिल गर्न भ्याए। आफूलाई झुटा मुद्दा लगाएको जिकिर लामिछानेको छ।

भ्रष्टाचारीलाई संरक्षण गर्ने यो सरकार नढलेसम्म देशले सुख नपाउने उनले बताए। आफूलाई जस्तै छानबिन गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली नै सबैभन्दा ठुलो भ्रष्टाचारी साबित हुने उनले दाबी गरे।

लामिछानेले नेता कार्यकर्ता सडकमा उतारे पछि गृहमन्त्री रमेश लेखक झनक्क रिसाएका छन्। पोखरामा रास्वपाका कार्यकर्ता र प्रहरीबीच भएको धकेलाधकेलतर्फ सङ्केत गर्दै उनले आफू जोगिने उद्देश्यले सुरक्षा निकायमाथि जाई नलाग्न भनेका छन्।

रवि पक्राउको विरोधमा रास्वपा आक्रोशित, पार्टीगत धारणा नबनाउन काँग्रेसको आग्रह

काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले अन्याय र अपराध गर्नेमाथि राज्यका निकायहरूले अध्ययन अनुसन्धान गर्ने भन्दै आफूले भनेको मात्रै ठिक भन्ने भाष्य छोड्न सचेत गराए।

आफूलाई पक्राउ गर्ने तयारीपछि लामिछानेले फेसबुकमा भिडियो अपलोड गरेर आफ्नो पक्षमा सडकमा आउन अपिल गरेका थिए। लामिछानेको समर्थनमा काठमाडौँ, पोखरा लगायतका सहरमा प्रदर्शन जारी रहँदा प्रहरीले भने आइतबार ६ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ।

तीन दिन बितेकोसहित बाँकी तीन दिन थप पाएपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेलाई शुक्रवार बेलुकी काठमाडौँबाट पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो। जिल्ला अदालत कास्कीले शुक्रवार उनीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी प्रतिवेदनमा औँल्याइएका अन्य व्यक्ति पनि अब क्रमशः पक्राउ पर्ने जानकारी दिएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा लामिछानेको गिरफ्तारीबाटै प्रतिवेदन कार्यान्वयनतर्फ अघि बढेको भन्दै उनले अनुसन्धानको दायरामा आउनुपर्ने कोही पनि नछुट्ने सुनाए।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकमा पनि लामिछाने पक्राउबारे छलफल भएको छ। पार्टी कार्यालय च्यासलमा आइतबार बेलुकी बसेको बैठकमा सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ परे पछिको अवस्था लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो।

बैठकपछि रविको गिरफ्तारीबारे महासचिव शङ्कर पोखरेलले यो विषय सरकारको मात्र नभएर संसद्को पनि साझा विषय भएको बताए। उनले आफूहरू पक्ष र विपक्ष कतै नरहेको बताए।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक छोट्याएर काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका लागि बालुवाटार लागेका थिए। सभापति देउवा पनि आरजु राणा र गगन थापासँगै प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन्। छलफलको विषय भने बाहिरिएको छैन।

बालुवाटार बैठकमा सहकारी प्रसङ्ग, रविलाई पक्राउ गर्न ग्रिन सिग्नल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.