अदालतमा रविले बोल्दा सिडिओलाई तनाव, गृहमन्त्रीले गराए सचेत

अदालतमा रविले बोल्दा सिडिओलाई तनाव, गृहमन्त्रीले गराए सचेत

काठमाडौं : सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेलाई रिहा गर्न दिनहुँ प्रदर्शन भइरहेको छ। कानुनी राज्यको वकालत गर्ने लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेता कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन उर्दी नै जारी गरेको छ।

लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउँदाको जस्तो तनाव भने सोमबार भएन। रास्वपा कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। उनीहरू रविको रिहाइ र सहकारी पीडितलाई न्याय दिन नारा लगाइरहेका छन्।

रवि आफैँ भने सहकारीको रकम ठगीमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयले रविविरुद्ध परेका उजुरीको अनुसन्धान गर्न आइतबार अदालतबाट हिरासतमा राख्ने अनुमति लिइसकेको छ। सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको अभियोग रविमाथि छ।

लामिछानेलाई अदालतमा उपस्थित गराउँदा सुरक्षा कमजोरी भएकोबारे गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सचेत गराएका छन्। लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेता भनेका थिए।

रवि पक्राउसँगै पोखरामा तनाव, बालुवाटारमा ओली-देउवा भेट

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले लामिछानेको अदालत भित्र प्रवेश गरेपछि आएकाले यो अदालतको क्षेत्राधिकारको विषय भएको बताए। उनले सुरक्षाकर्मीबाट पनि सामान्य त्रुटि भएको देखिने बताए।

पाण्डेले अदालतभित्र पत्रकारहरूको प्रवेश महत्त्वपूर्ण भएको बताए। ‘अनुसन्धान गरेर बुझ्दा सम्बन्धित अदालत प्रशासनबाटै अनुमति लिएर भित्र प्रवेश गरेर पत्रकारहरूले सोधेको भन्ने मैले पाएँ,’उनले भने,‘त्यही रिपोर्टिङ मन्त्री र मातहतका निकायमा जाहेर गरिसकेको अवस्था छ।’ कमजोरी देखिने/नदेखिने भन्ने कुरा मूल्याङ्कनको विषय भएको उनले बताए।

छविलालको रुपन्देहीमा बयान

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले पोखराको सुर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारीको पनि रकम अपचलन गरेको देखिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार जहाजमार्फत रुपन्देही ल्याएर बयान लिइएको रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले जानकारी दिइन।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिइए पनि नसकिएकाले उनलाई रुपन्देहीमै राखिएको छ। जोशीको मङ्गलवार पुनः बयान लिइनेछ। बयान सकिएपछि उनलाई पोखरा पठाइने छ।

जोशी पक्राउले आत्तिएको रास्वपा रविको गिरफ्तारीसँगै छटपटिएको छ। रास्वपाका नेताहरू पोखरा पुगेका कार्यकर्तालाई विरोधका लागि थमथमाउन रवि रिहा भइहाल्ने अभिव्यक्ति दिन थालेका छन्।

लामिछाने निर्दोष रहेको बताउँदै पर्सी बुधवार रिहा हुने दाबी रास्वपाले गरेको छ। पार्टीका प्रमुख सचेत सन्तोष परियारले रविलाई जेल राख्नुपर्ने कुनै आधार र प्रमाण नभएको भन्दै सम्मानित अदालतले पर्सी बुधवार छाड्ने दाबी गरे।

रविको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उनी पक्राउ परेदेखि निरन्तर प्रदर्शन गर्दै आएको छ। रास्वपाले चितवन र पोखरामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी भएका रास्वपाका नेता हरि ढकालले रास्वपाको सानो झिल्को पोखरा आइपुग्दा मसाल बनेको सुनाउँदै २०८४ को चुनावमा यो मसाल देशभर फैलने दाबी गरे।

रास्वपाले मङ्गलवार पनि प्रदर्शनलाई जारी राख्ने भएको छ। राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि निरन्तर खबरदारीमा रहेको बताएको रास्वपाले मङ्गलवार दिउँसो पोखराको जिरो किलोमा जनदबाब कार्यक्रमको आयोजना गर्ने बताएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.