बाढी, पहिरोमा ज्यान गुमाएका १२ जना मृतकका परिवारले अझै पाएनन् राहत

बाढी, पहिरोमा ज्यान गुमाएका १२ जना मृतकका परिवारले अझै पाएनन् राहत

काठमाडौँ : गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण छ। प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप राहत रकम वितरण गरिएको जनाकारी दिए।

सबैभन्दा बढी विपद्मा ज्यान गुमाएका काभ्रेपलान्चोक जिल्लामा ७९ जना मृतकका परिवार मध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ। त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइने मन्त्रालयले जनाएको छ।

ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार यकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ।

प्रवक्ता तिवारीका अनुसार काठमाडौँमा १९ जना मृतकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १/१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ।

त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७/७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ।

विपद्मा परी ज्यान गुमाएका मध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको छ।’पारिवारिक विवरण यकिन नभएको, कागजात मिलाउने पक्रिया, हकदार यकिन नभएको, हकदार देशबाहिर रहेको लगायतका अवस्थाका मृतकका परिवारलाई मात्रै राहत रकम वितरण गर्न नसकिएको हो,’उनले भने,’मृतकका परिवारलाई राहत रकम वितरणमा जिल्ला प्रशासन कार्यालयहरू सक्रिय छन्।’

विपद् लगत्तै प्रमुख जिल्ला अधिकारीसहितको टोली मृतक परिवारमै पुगेर राहत रकम वितरण गर्दै आएको थियो। अहिलेसम्म मृतकका परिवारलाई ५ करोड ४६ लाख रुपैयाँ राहत रकम वितरणका भइसकेको गृह मन्त्रालयले जनाएको छ।

विपद् लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकम वितरण, घाइतेको निःशुल्क उपचार, अवरुद्ध सडक सञ्चालनमा जोड दिनुका साथै लाभग्राहीको विवरण सङ्कलन गरी सहयोग गरिने विषय प्राथमिकतामा राखेका थिए। असोज दोस्रो साताको विपद्मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ।

विपद्का बेला नेपाली सेनाको हेलिकप्टर देखि सुरक्षा संयन्त्र प्रभावित क्षेत्रमा खटिएर नागरिकको खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचार लगायतको व्यवस्थापनमा खटिएको थियो।

त्यसैगरी सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ भने प्रभावित पालिकालाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.