काठमाडौं : सहकारीको रकम ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिन सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँग सोधपुछ एवं बयान लिन सुरु भएको हो।
लामिछानेको बयान एवं सोधपुछ बुधवार पनि चल्ने कास्की प्रहरीले जानकारी दिएको छ। लामिछानेलाई बुधवार अदालत उपस्थित गराइनेछैन। सोधपुछ एवं बयान जारी रहेकाले बिहीबार म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिने कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी वसन्त शर्माले जानकारी दिए।
रास्वपाका नेताहरूले भने बुधवार अदालतमा उपस्थित गराइने र रिहा हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। पोखरामा बयान सकिए रविका पार्टनर छविलाल जोशीको जस्तै रुपन्देहीमा ल्याएर बयान लिने तयारी प्रहरीको छ।
एक महिना अघि नै पक्राउ परेका रविका पार्टनर प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको भने सरकारी वकिलको कार्यालय रुपन्देहीमा मङ्गलवार बयान सकिएको छ।
सोमबार पोखराबाट जहाजमार्फत रुपन्देही पुर्याइएका जोशीको बयान मङ्गलवार साँझ ६ बजे सकिएको सरकारी वकिल कार्यालयकी प्रवक्ता उमा केसीले जानकारी दिइन। बयान सकिएसँगै जोशीलाई प्रहरीको जिम्मा लगाइएको छ।
अदालतमा रविले बोल्दा सिडिओलाई तनाव, गृहमन्त्रीले गराए सचेत
रविको बचाउमा दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपाले भने चौथो दिन पनि पोखरामा शक्ति प्रदर्शन गरेको छ। राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका सांसदसहितका नेता कार्यकर्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका मतियारलाई कारबाहीदेखि २०४७ सालदेखिका भ्रष्टाचारका सबै फाइल खोल्नेसम्मका नारा लगाएका छन्।
यसअघि प्रधानमन्त्री र सत्तारुढ नेपाली काँग्रेसका नेताविरुद्ध उग्र नाराबाजी लगाएको रास्वपा मङ्गलवार केही सम्हालिएको छ। प्लेकार्ड बोकेर पोखराका सडक परिक्रमा गरिरहेका रास्वपाका नेता कार्यकर्ताहरूले राष्ट्रिय गीत बजाएर प्रदर्शन गरे।
रास्वपाकी सांसद सोबिता गौतमले सम्पूर्ण सहकारी पीडितहरूले न्याय नपाएसम्म आन्दोलन नरोकिने बताइन। सभापति लामिछानेलाई पक्रेर ८७ अर्ब ठगेका दलले आफ्नालाई जोगाउन लागेको आरोप उनले लगाइन।
लामिछानेलाई शुक्रवार बेलुकी काठमाडौँबाट पक्राउ गरेर पोखरा पुर्याए देखि नै रास्वपा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू विरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा भने निवेदन परेको छ।
युवराज पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता,२०७४ को दफा (५०) को उपदफा(४)बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन्।
जाहेरीमा संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारबाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको जिकिर गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.