काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गरेका छन्।
सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे।
‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नु पर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अलमलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशङ्का गर्छन्,’प्रधानमन्त्री ओलीले भने,’त्यसरी सुनाइएका कुराहरूलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो। ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरू यहीँ हुनुहुन्छ। उहाँहरू पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ।’
कात्तिक ९ गते साझा धारणा सार्वजनिक गर्ने
सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूसँग छलफल गरेका थिए। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनको फाटो हटाउन ओलीले राखे बैठक
बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराएका थिए।
उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताए। त्यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ।
सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रवार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि बैठकबाट तय भएको सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.