स्वास्थ्य मन्त्री पौडेलको प्रण : नागरिक हुँदाको पीडा सम्झेर सुधारमा लागिरहने

स्वास्थ्य मन्त्री पौडेलको प्रण : नागरिक हुँदाको पीडा सम्झेर सुधारमा लागिरहने

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको दाबी गरेका छन्। बाँकी सुधारको असर अझ देखिने उनले बताए।

सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको सुनाए। ‘सङ्घीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’उनले भने,‘आगामी दिनमा पूर्ण सुधार महसुस हुनेछ। हामी सुधार गर्दैछौं। नागरिकलाई महसुस गराएरै छाड्छौ।’

मन्त्री पौडेलले क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्‍याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा सुरु भैसकेको र सातै प्रदेशमा पुर्‍याउने निर्णय भएको सार्वजनिक गरे।

नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको मन्त्री पौडेलले सय दिने प्रगतिका रूपमा सार्वजनिक गरे।

उनले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भने।

लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरूको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गरे। धेरै निर्णय दीर्घकालीन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको मन्त्री पौडेलले बताए।

देशमा हालसम्म स्नायु उपचार गर्ने केन्द्र नभएकामा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको मन्त्री पौडेलले बताए।

‘बिमा ५ लाख पुग्छ पुग्छ, प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’

मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बिमा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भइरहेको दाबी गरे। आफूहरूले एउटा अवधारणा बनाएकामा पूरा मन्त्रालयले दिएको भन्दै मन्त्री पौडेलले आभार व्यक्त गरे।

मन्त्री पौडेलले प्रधानमन्त्रीसमेत यसलाई सुधार गरेर दायरा ५ लाख पुर्‍याउने कुरामा सकारात्मक भएको बताए। प्रधानमन्त्रीले यसलाई लागू गर्न सकारात्मक सन्देश दिनुभएको छ,उनले भने,स्वास्थ्यबीमाको विषयमा दायरा बढ्छ बढ्छ। पाँच लाख पुग्छ पुग्छ।

‘औषधीको मूल्य घट्ने गरी समायोजन हुन्छ’

मन्त्री पौडेलले नतिजा आइ नसके पनि आम नागरिकले धेरै प्रयोग गर्ने औषधीको मूल्य समायोजनका लागि प्रक्रिया थालिएको जानकारी दिए। ‘औषधीको मूल्य समायोजन हुन्छ हुन्छ। मूल्य समायोजन हुन्छ भनेको कुनैमा पनि बढ्दैन,’उनले भने,’सबैमा मूल्य घट्छ।’

‘मन्त्री हुनु अघि नागरिक थिएँ, आफूले भोगेको पीडा सम्झेर सुधारमा लागिरहेछु’

मन्त्री पौडेलले आफू विगतमा पनि सरकारी अस्पतालमा उपचार गर्ने गरेको भन्दै परिवारको उपचारका क्रममा देखेका समस्या सम्झेर सुधार अघि बढाइरहेको बताए। ‘मन्त्री हुनु अघि नागरिक थिएँ। सरकारी अस्पतालमै मेरो र परिवारको उपचार गराइरहेको छु,’उनले भने,’मैले जे(समस्या) देखेँ त्यो सुधार गर्नुपर्छ भनेर लागेको हुँ।’

उनले सुधारका लागि संरचनागत पद्धति र पूर्वाधार पनि सँगै आउने भन्दै यी सबै कुरालाई ख्याल गरेरै सुधार अघि बढिरहेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.