विज्ञान विषयमा केन्द्रित अनलाइन पत्रिका सम्सारा सोसियल सञ्चालनमा

विज्ञान विषयमा केन्द्रित अनलाइन पत्रिका सम्सारा सोसियल सञ्चालनमा

काठमाडौँ : विज्ञान विषयमा केन्द्रित रहेर सम्सारा सोसियल अनलाइन पत्रिका सञ्चालनमा आएको छ। विज्ञान विषयमा रुचि भएका विद्यार्थीहरूलाई केन्द्रित गरी पत्रिका नेपाली र अङ्ग्रेजी दुवै भाषामा सञ्चालनमा ल्याइएको छ।

उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका गएका विश्व किरण गिरीले उक्त पत्रिका सञ्चालनमा ल्याएका हुन। उनले संयुक्त राज्य अमेरिकाको द युनिभर्सिटी अफ नर्थ क्यारोलिना एट ग्रीन्सबोरोबाट जीवविज्ञानमा विद्यावारिधि गरेका छन्।

नेपालमा बन विज्ञानमा स्नातकसम्मको अध्ययन पश्चात् अमेरिका पुगेका उनले आफ्नो अध्ययनको क्रममा जीव विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै ‘लाइफ हिस्ट्रि इभोलुसन अर्थात् जीवन इतिहास विकास’मा अध्ययन तथा अनुसन्धान गरेका छन्। उनी आइटी विषयका जानकार समेत रहेका छन्। वेबसाइटको प्रारम्भिक डिजाइन र एप समेत स्वयमले नै बनाए।

इभोलुसन विषयमा गरेको अध्ययन र योगदानको कारण गिरी ‘सोसाइटी फर स्टडी अफ इभोलुसन'(एस.एस.ई) अमेरिकाको सदस्य समेत रहेका छन्। उनको अनुसन्धान विकासवादी मोडेल जीव (Arabidopsis lyrata) प्रयोग गरी जीवन इतिहास दुविधा (Life History Tradeof) को आनुवंशिक आधार पहिचान गर्नमा केन्द्रित थियो।

अध्ययनको क्रममा डा. गिरीले जीवविज्ञान अनुसन्धानमा प्रयोग गरिने आधुनिक र क्रान्तिकारी प्रविधिहरू, जस्तै(जीनोमिक्स, ट्रान्सक्रिप्टोमिक्स र बायोलिनफर्मेटिक्सको प्रयोग गर्ने अवसर प्राप्त गरे। अध्ययनका क्रममा नवीनतम अनुसन्धान विधिहरू र उपकरणहरू प्रयोग गर्दै गर्दा, उनले महसुस गरेर, कुनै पनि विषयलाई व्यापक रूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक रहेछ, भन्ने बोध भएको उनले बताए।

उनले नेपाल जस्तो देशमा विज्ञान शिक्षाको प्रवर्धनलाई सीमित पार्ने मुख्य कारकहरू मध्ये एक नेपाली भाषामा सामान्य विज्ञानका विषयवस्तुको सीमित उपलब्धता महसुस गरे। नेपाली भाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञानका अध्ययन सामाग्री सुलभ रूपमा उपलब्ध नभएकोले विषय केन्द्रित पत्रिका सञ्चालन ल्याएका हुन।

गिरिका अनुसार, नेपालमा एउटा धारणा छ कि बोर्डिङ स्कुलमा अङ्ग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्य रहेनछ। कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न, र छलफल गर्न अवसर पाएनौँ भने, हाम्रो त्यो विषयको बारेमा रहेको ज्ञानमा धेरै त्रुटिहरू उत्पन्न हुने रहेछन्।

डा.गिरी भन्छन् ‘जीनोमिक्स, बायोइन्फर्मेटिक्स, र नेक्स्ट जेनरेशन सिक्वेन्सिङ डाटाजस्ता उदीयमान क्षेत्रहरूद्वारा उपलब्ध गराइएका नयाँ युगका प्रविधि र उपकरणहरू प्रयोग गर्ने अवसर पाउँदा भाग्यमानी महसुस गर्नेछन्।’ अध्ययन क्रममा उनले नेपालमा विज्ञान शिक्षाको जग कमजोर भएको महसुस गरे। अङ्ग्रेजीमा जटिल अवधारणाहरू बुझ्नु चुनौतीपूर्ण रहेको महसुस गरे। ग्रामीण क्षेत्रमा विज्ञान र त्यसले प्रस्तुत गरेका तथ्यहरू बुझ्नमा झनै समस्या रहेको उनको अनुभव छ।

उनी स्वयम बोर्डिङ स्कुलकै विद्यार्थी रहेका थिए तर उनी जब अमेरिकामा पढ्न थाले त्यसपछि उनलाई अनुभूति भयो नेपालमा पढाइने विज्ञान विषयको आधारभूत ज्ञान कमजोर रहेछ। त्यसैले उनले विज्ञान विषयमा सम्बन्धित रहेर लेख लेख्ने र त्यसलाई विद्यार्थीहरूसम्म पुराउने परिकल्पना गरे। त्यसपछि धेरै पाठकसम्म पुग्न अलि भरपर्दो साधन तयार गर्न सम्सारा सोसियल (Samsara Social) भन्ने अनलाइन पत्रिकाको अवधारणा तयार गरे।

सन् २०२० बाट उनले सम्सारा सोसियल (samsara.social) वेबसाइट बनाएर एकल रूपमा काम गर्न थाले। सकारात्मक प्रतिक्रियासँगै नेपालमा ८ जनाको पूर्णकालीन टिम बनाएर काम भइरहेको उनले जानकारी गराए। विज्ञान विषयमा केन्द्रित रहे पनि साहित्य र कलालाई समेत स्थान दिने गरेको प्रधान सम्पादक उपदेश भट्टले बताए।

मूलतः अङ्ग्रेजीमा लेख्ने गरेता पनि ती सामाग्रीलाई नेपालीमा पनि प्रकाशित गर्दै आएको उनले बताए। ती सामाग्रीलाई नेपाली र अङ्ग्रेजीमा अडियो सामग्री बनाउने र ती सामग्रीलाई पुनः भिडियो सामग्री बनाएर पस्किने गरेका छन्।

अहिलेसम्म उक्त अनलाइन पत्रिका पढ्ने पाठकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ। भट्टले भने ‘अहिलेसम्मकोसकारात्मक प्रतिक्रियाले गर्दा निरन्तरता दिन थप उत्साहित छौं।’ भट्टका अनुसार उक्त अनलाइन सञ्चालनमा अहिलेसम्म गिरिले मात्र व्यहोर्दै आएको भए पनि निकट भविष्यमा सामूहिक लगानी गरेर निरन्तरता दिने बारेमा छलफल भइरहेको बताए।

सम्सारा सोसियल (samsara.social) यो लिङ्कबाट प्राप्त गर्न सकिन्छ- https://samsara.social/। यो विषयमा थप जानकारीको लागि [email protected]मा सम्पर्क गर्न सकिन्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.