काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए। ‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन,’उनले भने,’मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ।’
प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने बताए।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे। उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने,’म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।’
आफू सन् १९९९ तिर मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि बताए।
रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित सुरु एनआरएनए डे र वार्षिक साधरणसभामा गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताए।
गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनि बनाएको बताए। ‘नेपालका लागि केही गर्ने उद्देश्य राख्नु भएको छ। जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नु भएको छ,’उनले भने,’गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ। तपाईँहरू रहेको देशमा तपाईँको अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईँले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ।’
गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए। ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईँको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’उनले भने।
गैरआवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए। ‘तपाईंहरु पनि त्यसरी नै आउनुहोस्। कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ,’उनले भने,’तपाईँ पनि गृहकार्य गरेर आउनुहोस्।’
लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै लोकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए। ‘गैरआवासीय नेपाली विश्वभर अवैतनिक दूतको रूपमा हुनुहुन्छ। नेपाललाई कसरी देखाउनु हुन्छ नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भने।
गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको उनले बताए। ‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन,’ उनले भने, ‘संविधान मै भएको व्यवस्था कार्यान्वयन गर्न आगामी अधिवेशनमा संशोधन प्रस्ताव लैजान सक्छौँ।’ लोकतन्त्र अराजकता नभई अनुशासन समेत रहेको उनले बताए।
गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रूपमा जति सफल भए पनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान सुरु भएको स्मरण गराए। उनले सुरुमा मुटुबाट सोचे पनि पछिल्लो समय बौद्धिकता लगाउँदा गैरआवासीय सङ्घमा समस्या आएको बताए। ‘हामीले विदेशको धनाढ्य, ठुलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौँ,’ महतोले भने,‘तर अभियानलाई नै सँगै राख्न सकेनौँ। सबैले सङ्कल्प गरौँ देश समृद्धि नभएसम्म केही हुँदैन।’ उनले छिट्टै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाए।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष बद्री केसीले विश्वभर नेपालको राम्रो इमेज बनाउने काम गरिरहेको बताए। उनले नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधैँ तयार रहेको बताए। ‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठुलो लगानी समेत भित्रिएको छ,’अध्यक्ष केसीले भने‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संशोधन गरेर सीमा नतोकी लगानी भित्राउन दिनुपर्छ।’
उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेको बताए। ‘सिआईबी लगाएर धरपकड गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’उनले भने।
सङ्घले नेपालमा १ अर्ब बढी परोपकारका क्षेत्रमा काम गरेको पुस्तक सार्वजनिक गरेको छ। उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्याङ्क रहेको बताए।
नेपालबाट बिदेसिएका नेपाली पाँच तारे होटल सञ्चालन देखी हावर्ड, अक्सफोर्ड, एमआईटी जस्ता विश्व चर्चित विश्वविद्यालयमा पुगेको बताउँदै भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास व्यक्त गरे। ‘गैरआवासीय नेपाली सङ्घ सीमित व्यक्तिको बनाउने की सबैको बनाउने भन्ने द्वन्द्वका कारण उतार चढाव देखिएको छ,’ उनले भने,‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’ उनले एनआरएनए ऐनका केही व्यवस्था संशोधनको आवश्यकता रहेकाले अगाडी बढाउन सरकारलाई आग्रह गरे।
नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुने एनआरएनएले जनाएको छ।
कार्यक्रमको दोस्रो दिन सोमबार २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरू समावेश गरिएका छन्।
कार्तिक १२ गते गैरआवासीय नेपाली सङ्घको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ। सङ्घका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने छन्। साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ।
साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली सङ्घका अधिकांश पदाधिकारीहरू, तथा साधारणसभा प्रतिनिधिहरू काठमाडौँ आएका छन्। कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसक्नेका लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको एनआरएनएले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.