उफ्रिउफ्री नकराउन रास्वपालाई ओलीको चेतावनी

उफ्रिउफ्री नकराउन रास्वपालाई ओलीको चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलप्रति आक्रोशित देखिएका छन्। सरकारको सय दिन पुग्दा नपुग्दै प्रमुख प्रतिपक्षी दलले खबरदारी सभा गरेर धम्काएको भोलिपल्टै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले शनिवार सरकारले आफूहरूको खबरदारीलाई गम्भीरतापूर्वक नलिए सडकमा घिसार्न तयार रहेको बताएका थिए। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आइतबार आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको जवाफ दिए।

त्यतिमात्र होइन पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रति पनि प्रधानमन्त्री ओली आक्रोशित देखिए। रवि पक्राउ परेपछि आफू विरुद्ध नाराबाजी भएकोतर्फ लक्षित गर्दै ओलीले भाडामा खटाइएकाहरूले आफ्नो साख घट्यो भन्ने गरेको टिप्पणी गरे।

अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रिउफ्री कराउनु लोकतान्त्रिक मान्यता विपरीत भएको ओलीको टिप्पणी छ। सहकारी संस्थाको बचत रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्दा माओवादी र रास्वपा आत्तिएको एमाले अध्यक्षसमेत रहेका ओलीको भनाइ छ। आफूलाई अलोकप्रिय भनेर टिप्पणी गर्नेहरूलाई ०८४ को चुनाव कुर्न पनि उनले आग्रह गरे।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद लामिछाने १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन्। गत २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरेर कास्की लगिसकेपछि उनलाई प्रहरीले दुई पटक म्याद थप गरेको छ।

पोखरामा रहेकी उनकी पत्नी निकिता पौडेल सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने तयारीमा काठमाडौँ आएकी छन्। रिट हाली सकेर उनी फेरि पोखरा फर्किनेछिन्। रास्वपाका सीमित नेताहरू पोखरामा छन्।

काठमाडौँमा पनि रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन जारी राखेको छ। रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरिरहेको हो।

यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले अस्ति शुक्रवारदेखि काठमाडौं केन्द्रित विरोधका कार्यक्रम गरिरहेको छ। प्रदर्शनकारीले ‘अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर’ लगायतका नारा लगाइरहेका छन्।

हिरासतमा दुर्व्यवहार नभएको प्रस्टीकरण

कास्की प्रहरीले हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेबारे भइरहेका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। केही दिनअघि मात्रै केही अधिवक्ताले नै लामिछानेलाई प्रहरीबाटै यातना भएको र असुरक्षित रहेको लगायतका आरोप लगाएका थिए।

प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको लगायतका विषय टिकटक लगायतका सामाजिक सञ्जालहरूमा प्रचार भइरहेको छ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गर्दै ती सबै भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू भएको स्पष्ट पारेका छन्। गलत सूचनाको सम्प्रेषण गर्दा मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित सूचनाहरू मात्रै सम्प्रेषण गर्न प्रहरीले अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.