निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रवि जोगाउन रास्वपाको हारगुहार, आन्दोलन स्थगित

रवि जोगाउन रास्वपाको हारगुहार, आन्दोलन स्थगित

212
SHARES

काठमाडौं : सभापति रवि लामिछानेलाई जोगाइदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले हारगुहार गर्न थालेका छन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि सडकबाट सरकार विरुद्ध निरन्तर आन्दोलन गरिरहेको रास्वपा केही जोड नचलेपछि अन्ततः हारगुहारमा उत्रिएको छ।

रास्वपाले पछिल्लो समय सभापति लामिछाने बचाउनकै लागि सरकारसँग ‘लबिङ’को प्रयास गरेको छ। एमाले नेता विष्णु रिजालले दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गरेको रास्वपाले राति–राति भने ‘रविजीलाई बचाइदिनुपर्‍यो, लौ न’ भनेर हारगुहार गर्न बालुवाटार पुगेको उल्लेख गरेका छन्।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र सचेतक सन्तोष परियारले केही दिन अघि प्रधानमन्त्री केपी ओलीलाई भेटेर लामिछानेलाई बचाइदिन अनुरोध गरेका थिए। रास्वपाले सभापति बचाउनका लागि बालुवाटार नगएको प्रष्टीकरण दिएको छ।

प्रधानमन्त्री ओलीसँगको भेटमा डिपी र आफू बाहेक तेस्रो व्यक्ति कोही पनि नभएको बताउँदै सचेतक सन्तोष परियारले एमाले नेता रिजालले कपोकल्पित कुरा गरेको आरोप लगाए। बालुवाटार आन्दोलन र शान्ति सुरक्षाको कुरा गर्न आफूहरू गएको बताउँदै उनले त्यस बाहेक अन्य कुनै पनि कुरा नभएको दाबी सुनाए।

मङ्गलवार बालुवाटार घेर्न पुगेको रास्वपाको सडक आन्दोलन छठसम्मका लागि स्थगित भएको छ। कार्यवाहक प्रवक्ता मनिष झाले बुधवारदेखि आन्दोलन स्थगित भएको जानकारी दिँदै छठपछि मात्रै निरन्तरता दिने बताए।

संसदीय विशेष छानबिन समितिले नै कारबाहीका लागि सिफारिस गरेपछि लामिछानेलाई कार्तिक २ गते पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा पुर्‍याइएको थियो। उनी विरुद्ध अनुसन्धानका लागि भन्दै प्रहरीले अदालतबाट दोस्रो पटक लिएको म्याद भने सकिएको छ।

तर, बिहीबारदेखि तिहार बिदा सुरु हुने भएकाले लामिछाने हिरासतमै रहने भएका छन्। तिहार बिदापछि मात्रै अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आन्दोलनका क्रममा सांसद विराजभक्त श्रेष्ठले अपशब्द बोलेको विषय भने अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा श्रेष्ठले आक्रोशित बन्दै व्यवस्था विरुद्ध सुन्नै नसकिने गाली दिएका थिए। त्यस अभिव्यक्तिको आलोचना समेत भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
212
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.