काठमाडौं : तिहार लगत्तै सरकार परिवर्तनको खेल सुरु हुने सङ्केत देखिएको छ। वर्तमान सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नै अहिले देशी/विदेशी प्रतिक्रियावादीहरू सरकार ढाल्ने अभियानमा लागेको बताएर परिवर्तन हुन लागेको सङ्केत दिएका हुन्।
काँग्रेस र एमालेको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनले सय दिन पुरा गरिसकेका छन्। सय दिन पुग्दै गर्दा सरकार ढल्ने हल्ला फैलिएपछि सत्तारुढ दलहरूको बैठक बसेर ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको थियो।
तर, पनि सरकार ढल्ने हल्ला भने चलिरहेको छ। नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौँमा आयोजित देउसी–भैलो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले सरकार ढाल्न देशी/विदेशी शक्ति लागेको बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्लाउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न एमाले, नेता कार्यकर्तालाई सचेतसमेत गराए।
नेपालमा एक पछि अर्को गठबन्धन बदलिने र सरकार बन्ने प्रक्रियामा विदेशीको हात रहने गरेको स्वयम प्रमुख दलका नेताहरूले नै बताउने गरेका छन्। यद्यपि कुनै कुनै सरकार र गठबन्धन भने आफ्नै बलबुतामा बनेको नेताहरूको दाबी रहने गरेको छ।
सरकारको ७ बुँदे शक्ति : सहकारीमा आक्रोशित, जग्गा दानमा मौन
काँग्रेस एमालेको वर्तमान सरकार अमुक व्यापारीको चक्रब्यूमा परेर बनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आरोप लगाउँदै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा आयोजित कार्यक्रममा आफूले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण सत्ताबाट हट्नुपरेको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी भइरहेको छ। सरकार रास्वपा प्रति आक्रामक देखिएको छ।
एमाले उपमहासचिव समेत रहेको संचारमन्त्री गुरुङले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गरेर प्रतिकार गर्न एमाले नेता, कार्यकर्तासहित साइबर सेनालाई निर्देशन नै दिए।
सय दिनमा उल्लेखनीय काम हुन नसकेको टिप्पणी हुन थाले पछि सरकार रक्षात्मक बन्न खोजेको छ। सञ्चारमन्त्री गुरुङले एमाले मुख्यालय निर्माणमा लागि व्यवसायी मीनबहादुर गुरुङले दिएको दानको विषयलाई पनि अनावश्यक ढङ्गले उचालेर एमालेलाई कमजोर बनाउने काम भइरहेको बताए।
एमाले गालीले थला पर्न लाग्दा प्रतिपक्षी माओवादी भने जनताको माया पाएको भन्दै उत्साहित बनेको छ। प्रधानमन्त्रीबाट हटेपछि देशका विभिन्न जिल्लामा पुगेका प्रचण्डले आफूलाई जनताले धेरै माया गरेको महसुस हुने गरेको सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.