काठमाडौं : प्रहरीले चाडबाडका बेला सचेतना अभियान चलाए पनि मादकपदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउँदा सयौँ दुर्घटना भएका छन्। नेपालीको दोस्रो ठुलो पर्व तिहारमा भएका सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ। तिहारमा मात्रै ६४९ ओटा सवारी दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १ हजार एक सय ३१ जना घाइते भएका छन्। तिहारको अवधिमा मापसे लापसे गरेर देउसी भैलो खेल्ने क्रममा २१४ वटा झैझगडाका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिए।
तिहारका समयमा कुनै ठुलो अप्रिय घटना नभए पनि जुवातास र अवैध रूपमा पटाकाको चोरी निकासी भने मौलाएको पाइएको छ। प्रहरीले तिहारमा चलाएको सर्च अप्रेसनका क्रममा जुवातास खेल्ने झन्डै ८ सय जनालाई पक्राउ गरेको छ। उनीहरूबाट झन्डै पौने दुई करोड रकम समेत बरामद भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार तिहारमा अवैध रूपमा पटाका पट्काउने ५९३ जना समातिएका छन्।
छठको सुरक्षा व्यवस्था
तिहार सकिए लगत्तै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ।
कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ। भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ।
महोत्तरीसहित मिथिलाञ्चल तथा तराई मधेसमा आजदेखि छठ पर्वका लागि कुटानी पिसानी सुरु भएको छ। छठ पर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटानी पिसानी सुरु गरेका हुन्।
नेपाल प्रहरीले पनि छठ पर्वका लागि विशेष सुरक्षा व्यवस्था गरेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता कार्कीले छठ घाटहरूमा विशेष सुरक्षा निगरानी बढाइएको जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.