तेस्रो लिङ्गीहरूको ‘आमा’ भनेर परिचित आनिकको निधन, समुदाय स्तब्ध

तेस्रो लिङ्गीहरूको ‘आमा’ भनेर परिचित आनिकको निधन, समुदाय स्तब्ध

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि लड्दै आएकी तेस्रो लिङ्गी महिला आनिक रानामगरको निधन भएको छ।

तेस्रो लिङ्गीहरूको ’आमा’ भनेर परिचित तथा अधिकारकर्मी रानाको उपचारका क्रममा चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बुधवार बिहान निधन भएको हो। मुखको क्यान्सरबाट पीडित राना केही दिन अघि मात्रै उपचारका लागि भर्ना भएकी थिइन।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ सुनेनापथ मिलीजुली टोलमा बस्दै आएकी रानामगर साहसी कदम नेपालकी अध्यक्ष समेत हुन्। राना क्यान्सर रोगी थिइन। लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अभियान अधुरै छोडेर रानाले ४३ वर्षको उमेरमा बुधवार बिहान भरतपुर क्यान्सर अस्पतालमा प्राण त्याग गरिन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने गरी सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश, नेपाल सरकार गृह मन्त्रालयले यस समुदायका व्यक्तिहरूलाई अन्य जनाइ नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका २०६९ को विपरीत जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता दिन आनाकानी गर्ने, मेडिकल रिपोर्ट माग्ने लगायतका कार्य संविधान विपरीत समेत भएको भन्दै निजहरूको नाममा परमादेश, उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ भनी २०७० असोज १६ गते यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्ता एवं संविधानसभाका सदस्य सुनिलबाबु पन्त समेत रानामगरले सर्वोच्च अदालतमा ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइ रिट दायर गरेकी थिइन।

सर्वोच्च अदालतले २०७३ माघमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई इच्छाएको नाममा अन्य उल्लेख भएको नागरिकता दिन परमादेश जारी गरेको थियो। २०३८ सालमा रुपन्देहीको करहीयामा जन्मिएकी रानामगरले सर्वोच्च अदालतको परमादेशपछि २०७३ सालमा अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएकी थिइन।

रानामगरको निधनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक स्तब्ध भएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अभियन्ता एवं एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले नेपालका सबैभन्दा प्रतिष्ठित, साहसी र मेहनती अधिकारकर्मी गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन्। ‘साँच्चै दुःखको कुरा हामीले नेपालका सबैभन्दा प्रतिष्ठित, साहसी र मेहनती एलजीबीटीआई अधिकारकर्मी गुमायौँ,’संविधानसभाका सदस्य पन्तले श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्।

पन्त आनिकको निधनमा शोक व्यक्त गर्न रुपन्देही गएका छन्। पन्तकै पहलमा रानामगर अध्यक्ष रहेको साहसी कदमले लैङ्गिक समानताको अभियान सञ्चालन गर्दै आएको छ।

साहसी कदम संस्था स्थापना गरेर रानामगरले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारको अभियान अगाडी बढाउँदै आएकी थिइन। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिको अभियानमा होमिदा लाभमा आसक्त आसेपासेबाट उनी एक्लिएकी थिइन। र,पनि एचआइभी र क्यान्सरसित लड्दै समुदायको अधिकारका लागि खटिरहेकी थियौ,’रुपन्देहीकी पत्रकार अमृता अनमोलले फेसबुकमा लेखेकी छन्,’तिम्रा धेरै अभियानकी साछी र प्रशंसक म जीवनभर प्रशंसक रहनेछु। लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवालमा तिमीसित काम गर्न बनाएका केही अभियान अधुरै रहे …।’

साहसी कदम नेपाल, मायाको पहिचान नेपाल लगायतका सङ्घसंस्थाले रानामगरको निधनमा दुख व्यक्त गरेका छन्। साहसी कदम नेपालले रानामगरको मृत्युको समाचारले मन भारी भएको उल्लेख गरेको छ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि दुई दशकभन्दा बढी समय समर्पण गर्नुभएकी रानामगरको सङ्घर्ष र साहसले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको साहसी कदमले उल्लेख गरेको छ। ‘तपाईँको योगदान सधैँ सम्झिनेछौँ र तपाईँको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछौँ। स्वर्गमा शान्ति पाउनुहोस्। तिमी नै हौ मणि, तिमी नै हौ यो ब्रह्माण्डको यादगार व्यक्ति, तिमीले हाम्रो समुदायको लागि सिर्जना गरेको पाइला र आवाजलाई कहिल्यै भुल्ने छैन, तिम्रो योगदान सधैँ सुनौलो अक्षरमा लेखिनेछ,साहसी कदमले लेखेको छ,तिम्रो आत्माले शान्ति पाओस् …। रुपन्देहीले एक होनहार अधिकारकर्मी गुमायो। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अभिभावक गुमायो। हार्दिक श्रद्धाञ्जली।’साहसी कदम नेपाल श्रद्धाञ्जली व्यक्त गरेको छ।

नेपाली एलजीबीटीआइ समुदायको सशक्त आवाज बनेकी रानामगरले लैङ्गिक समानता र न्यायको पक्षमा खेलेको महत्त्वपूर्ण भूमिका स्मरण पनि गरेका छन्। वसन्त बन्जाडेले लेखेका छन्,’उहाँको अदम्य साहस, निःस्वार्थ सेवा भावना, र समानताको लागि गरेको सङ्घर्षले सबैलाई प्रेरणा दिइरहनेछ। उहाँको अभावले हाम्रो समाजमा रिक्तता छोडेको छ।’

समुदायका सदस्य एवं शुभचिन्तकहरूले रानामगरको निधनप्रति दुख व्यक्त गर्दै ‘समाज परिवर्तनका लागि गरेको त्याग, बलिदान कहिल्यै बिर्सनेछैनौँ’ लेखेका छन्।

सामाजिक सञ्जालमै अग्नि शक्ति यादवले दैव पनि कति निस्ठुरी…भनेका छन्। ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, मधेशी, दलित मुस्लिम लगायत पिछडावर्गको अधिकार, स्वाभिमान सम्मान, समता, समानताको निम्ति सधैँ लडिरहने अधिकारकर्मी आदरणीय दिदी आनिक रानाको मृत्युको खबरले स्तब्ध बनायो,’यादवले लेखेका छन्,’दिदीको आत्माले शान्ति पाओस् परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्। हजुरको अभाव सधैँ खट्किरहनेछ।’

सामाजिक सञ्जालमा उषा किरण पन्थले ‘जीवन रहँदा न सम्झे पनि मरण पछि सम्झिरहने छ यो समाजले,’लेखिकी छन्। ‘आर्थिक, राजनीति, सामाजिक रूपमा तिम्रो समुदायलाई धेरै अगाडि बढाएर गएकी छौ। तिमिले देखाएको बाटोले निरन्तरता पाओस्। धेरै गुनासा छन् तिम्रा यो समाज सँग ती गुनासाको सुनुवाइ होस तिम्रो आत्मले शान्ति पाओस्,’पन्थले फेसबुकमा लेखेकी छन्।

अधिकारकर्मी रानामगरको निधनमा पहिचान मिडियाले शोक व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

आनिकले २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिका वडा नं ८ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी थिइन। २०७४ मै तेस्रो लिङ्गी अधिकारकर्मी रानामगरले नइ रामलक्ष्मी पुरस्कार पाएकी थिइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.