सरकारको आलोचना हुन थालेपछि ओली र देउवाले बनाए संयन्त्र

सरकारको आलोचना हुन थालेपछि ओली र देउवाले बनाए संयन्त्र

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीको संयोजन परराष्ट्रमन्त्री देउवाले गर्ने

काठमाडौं : जनताका मुद्दामा केन्द्रित हुन नसकेको तथा भ्रष्टाचार र शून्य सहनशीलतामा चुकेको भन्दै सरकारको विरोध भइरहेको छ। दुई ठुला दल मिलेपछि भ्रष्टाचार मौलाएको आरोप लागिरहेको छ। सत्ता फेरिए पनि अवस्था उस्तै रहेको गुनासा आइरहँदा सत्तारुढ दुई दलले संयन्त्र गठन गरेका छन्।

प्रतिपक्ष दलहरूले सरकारको विरोध गर्न थालेपछि एमाले र काँग्रेसले दुई दलबीचको सम्बन्ध मजबुत बनाउन तथा सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन भन्दै एक समन्वय संयन्त्र गठन गरेका हुन्।

संयन्त्रमा काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्।

समन्वय संयन्त्रले सरकारको प्रभावकारिता, सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने एमाले नेता तथा प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

संयन्त्रमा केन्द्रको हकमा काँग्रेस र एमालेका चार/चार जना नेता रहने छन्। प्रदेशमा पनि तीन/तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई/दुई जना रहने गरी संयन्त्र बनाइने गौतमले बताए।

एमालेले प्रदेशको हकमा इन्चार्ज, अध्यक्ष र संसदीय दलका नेता तथा जिल्लाको हकमा जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव रहने गरी संयन्त्र बनाउन प्रस्ताव गरेको छ। एमाले प्रचार विभाग प्रमुख गौतमले पछिल्लो समय सरकारमाथि आक्रमण सुरु भएको अवस्थामा अब मजबुत सरकार बनाउनका लागि यस संयन्त्र प्रभावकारी हुने समेत बताए।

कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने निर्णय गरेको छ। पहिलो महिना मङ्सिर २० सम्म काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदल बैठकको संयोजन गर्नेछन्।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गर्ने निर्णय कार्यदलले गरेको छ।

दुई नेताको निर्देशन अनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको काँग्रेसले बुधवार विज्ञप्ति निकालेर जानकारी दिएको छ।

कोशीका मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई जापानमा हुने कार्यक्रममा बोलाएर मानव तस्करी गरिएको खुलेको छ। प्रहरीले मानव तस्करीमा संलग्न ७ जनालाई पक्राउ गरेको जनाएको छ।

मन्त्री अधिकारीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोज्ने सात जना पक्राउ परेका हुन्। मन्त्री अधिकारीले आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको दाबी गरेका छन्।

मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित एमालेका सांसद हुन्। घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले बुधवार राजीनामा दिए। मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारी समेत नदिई जापान गएको विषयमा विवाद बढेपछि अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाए।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्रीको राजीनामासँगै बसेको मन्त्रीपरिषद् बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ। बैठकले सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.