पोखरापछि रविको बयान बुटवलमा, प्रदर्शन पनि सर्ने

पोखरापछि रविको बयान बुटवलमा, प्रदर्शन पनि सर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट बुटवल लगिदैछ। सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई बुटवल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जहाज नपाएपछि सहकारी ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेलाई सोमबार रुपन्देही लैजाने प्रहरीको तयारी भने सफल हुन सकेन। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको २ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ।

सोही प्रकरणमा उनलाई सोमबार नै रुपन्देही लैजाने तयारी भए पनि जहाजको उडान तालिका नमिलेपछि लान नसकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालले लामिछानेलाई मङ्गलवार बिहानै थप अनुसन्धानकालागि जहाज मार्फत रुपन्देही ल्याइने जानकारी दिइन।

रविलाई रुपन्देही लगिने भएपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले रुपन्देही केन्द्रित प्रदर्शन गर्ने तयारी गरेको छ। रास्वपाले मङ्गलवार रुपन्देहीमा सशक्त प्रदर्शन गर्ने जनाएको छ। प्रतिशोधपूर्ण पक्राउको विरोधमा रास्वपाले आन्दोलनका थप कार्यक्रम समेत घोषणा गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय विशेष छानबिन समितिले औँल्याएपछि लामिछाने, र अध्यक्ष जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट यसअघि अनुमति लिइसकेको छ।

लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार मात्रै कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। योसँगै लामिछानेविरुद्ध अनुसन्धानका लागि चौथो पटक म्याद थप भएको हो। ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि भन्दै प्रहरीले कात्तिक २ गते लामिछानेलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको वनस्थलीबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो।

लामिछानेले हिरासतको बसाई अझै लम्बिने देखिएपछि उपसभापतिद्धय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसँग हिरासतमै बोलाएर छलफल गरेका छन्। हिरासतबाटै पार्टी चलाइरहेका लामिछानेले बोलाए पछि पोखरा केन्द्रित आन्दोलनमा रहेका दुवै उपसभापति सोमबार दिउँसो हिरासतमै पुगेका थिए।

हिरासतमा छलफल गरेका लामिछानेले आफूलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएकोबारे नागरिकलाई स्पष्ट रूपमा बुझाउन निर्देशन दिएका छन्। लामिछानेसँगको भेटपछि उपसभापति अर्यालले रविलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न पाउनुपर्ने आफूहरूको माग रहेको बताए। लामिछाने भागेर जाने, प्रमाण नष्ट गर्ने, र नयाँ अपराध गर्ने व्यक्ति नभएको उनले सुनाए।

सरकारले भने चोरलाई चौतारो, साधुलाई सुलीको अवस्था नहुने बताएको छ। भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.