मन्त्रिपरिषद् पुनर्गठनको हल्लाले मन्त्रीहरूमा छटपटी

मन्त्रिपरिषद् पुनर्गठनको हल्लाले मन्त्रीहरूमा छटपटी

काठमाडौं : वर्तमान सरकारका मन्त्रीहरूमा पदमुक्त हुने छटपटी सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि नै बिचौलियाको पक्ष पोषण गर्ने र प्रभावकारी काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाउने तयारीसँग मन्त्रीहरूमा पदमुक्त हुने छटपटी सुरु भएको हो।

सरकार गठन भएको चार महिनासम्म गफैगफैमा बिताएका मन्त्रीहरूलाई बदल्ने सत्तारुढ दुई दलको तयारीले छटपटी सुरु भएको छ। एमालेबाट उद्योगमन्त्री बनेका दामोदर भण्डारी र काँग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेमाथि बिचौलिया पोस्ने र प्रभावकारी काम नगरेको आरोप लागेको छ।

बिचौलियाको पक्षपोषण गरेको र प्रभावकारी काम गर्न नसकेका यी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी काँग्रेस र एमालेले गरेका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि नै हटाउने तयारी भए पनि दुवै मन्त्रीले भने त्यसबारे कुनै जानकारी नभएको बताएका छन्।

बरु उनीहरूले आफूहरूले परिणाम दिने गरी काम गरिरहेको दाबी गरेका छन्। एमालेबाट दोस्रो पटक उद्योगमन्त्री बनेका भण्डारीले यस पटक पनि नीति निर्माणमै केन्द्रित रहेको दोहोर्‍याएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन्। मन्त्री पाण्डेले इमानदार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको उल्लेख गरेका छन्।

राजनीतिक भित्र विकृति विसङ्गतिका मतियारहरूले तथ्य, प्रमाण र हल्लाका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अफवाह फैलाइएको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘म यो पशुपति नाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन्,’मन्त्री पाण्डेले भने,‘करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु।’ उनले मन्त्री पदमा नियुक्त भएदेखि धेरै सुधारका काम गरेको दाबी पनि गरे।

गृहमन्त्री रेडजोनमा परेको चर्चा

रवि लामिछानेलाई पक्राउ गर्न लिड रोलमा रहेका गृहमन्त्री रमेश लेखक पनि रेडजोनमा परिसेकेको चर्चा चलेको छ। रवि गृहमन्त्री हुँदा संसदमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक रहेका लेखकले रविमाथि छानबिन नभएसम्म अवरोध नहट्ने अड्डी कसेका थिए।

उनै लेखक गृहमन्त्री बनेपछि रविलाई समात्न मात्रै अग्रसरता देखाएको आरोप लागेको छ। अघिल्लो सरकारको कडा आलोचना गरेका लेखक सरकारको गृहमन्त्रीमा रहँदा असोजमा आएको बाढी पहिरोबाट नागरिकलाई उद्धार गर्न नसकेको आरोप छ।

प्रतिपक्षमा हुँदा सरकारलाई गाली गर्न जान्ने सरकारमा गए पछि परिणाम दिन नसक्नेमा लेखक पनि अग्रमोर्चामा देखिएको आरोप छ। केही न केही गरेकै छ भन्ने पार्न गृहमन्त्री लेखकले मङ्गलवार सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको अवलोकन गरे। तर, काँग्रेस भित्रै गृहमन्त्रीको काम नदेखिएकाले फिर्ता बोलाउनु पर्ने माग हुन थालेको छ।

नक्कली भुटानी शरणार्थी काण्ड, सुन प्रकरण, सहकारी ठगी, ललिता निवास, गिरीबन्धु टिस्टेट लगायतमा संलग्नलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ। काम देखाउन नसकेको आरोप खेपेका गृहमन्त्री लेखकलाई पनि फिर्ता बोलाउने हल्ला फैलिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निकट लेखकको सचिवालयले भने यो हल्ला मात्रै भएको बताएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.