रविलाई काठमाडौं ल्याइने, प्रधानमन्त्रीसँग भेट्न नपाएको रास्वपाको गुनासो

रविलाई काठमाडौं ल्याइने, प्रधानमन्त्रीसँग भेट्न नपाएको रास्वपाको गुनासो

दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइने भएको छ। रवि र छविविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि र छविलाई काठमाडौं ल्याएर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने र जोशी विरुद्ध न्यायाधीश शिशिरराज ढकालको इजलासले पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछाने र जोशीलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ। सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीलाई यसअघि कास्कीबाट रुपन्देही झिकाएर बयान लिइएको थियो।

सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्। लामिछाने र जोशीको अहिले कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

रवि र छविको हिरासत कक्ष भने फरक फरक छ। हिरासतमा भेट्नका लागि निश्चित समय निर्धारण गरिएको पनि सूचना अधिकारी शर्माले बताए।

सभापति लामिछाने हिरासतमा बस्नु पर्दा पीडामा परेको रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ५ मिनेटको भेट पनि नपाएको गुनासो गरेको छ। रास्वपाले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीसँग भेट गर्न नपाएको पीडा सुनाएको हो।

प्रधानमन्त्री ओलीले रास्वपाका नेताहरूसँग भेट्न अस्वीकार गरे पछि रास्वपा गुनासो गर्न बाध्य भएको हो। आफूहरूलाई भेट गर्ने समय नदिएर प्रधानमन्त्री ओलीले खिसिट्वीरी गरेको रास्वपाको गुनासो छ। लामिछाने पक्राउसँगै सडकमा सरकार र प्रधानमन्त्री विरुद्ध मुर्दावादको नारा लगाउँदै आएको रास्वपा गलित भएर भेट गर्न समेत नपाएको गुनासो गर्ने ठाउँमा पुगेको छ।

हिरासतबाटै पार्टी चलाएका लामिछानेको निर्देशनमा रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीलाई राजनीतिक प्रक्रिया अन्तर्गत ज्ञापन पत्र बुझाउन नपाएको बताए।

रास्वपाले राजनीतिक स्थायित्व, सुशासन र विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने प्रतिबद्धता सहित गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्ने आधार दिनप्रतिदिन गुमाउँदै गएको आरोप लगाएको छ।

‘लोकतन्त्रको स्थापित मान्यता विपरीत पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको सरकारले न त विपद्मा परेका नेपालीको ज्यान बचाउन सक्यो न खस्कँदो अर्थतन्त्रलाई नै उकास्न,’रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै भनेको छ,‘रोजगारी र शिक्षाको लागि विदेश जानेको बढ्दो सङ्ख्या, सडक दुर्घटनामा हुने बढ्दो मृत्यु, चरम महँगी, कमजोर पासपोर्ट सूचकाङ्क र सरकारवादी मुद्दाका प्रतिवादीहरूदेखि राज्य संयन्त्रका बिचौलियाहरूसँग सरकारको नेतृत्व गरिराखेका दलहरूको नै बढ्‌दो साँठगाँठले सुशासन र सार्वजनिक सेवा सहज प्रवाहको प्रतिविद्धताको धज्जी उडाएको छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.