ओलीमाथि गम्भीर आरोप लगाउने प्रसाईँ हिरासतमा, नौ युट्युब च्यानललाई कारबाही

ओलीमाथि गम्भीर आरोप लगाउने प्रसाईँ हिरासतमा, नौ युट्युब च्यानललाई कारबाही

पूर्वडिआइजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेललाई १५ अर्ब छुट दिएर कम्बोडियामा लगानी गरेको अभिव्यक्ति दिएका मेडिकल व्यवसायी प्रहरी हिरासतमा पुगेका छन्। प्रसाईँ भक्तपुरस्थित निवासबाट पक्राउ परेका हुन्।

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गरेको आरोपमा प्रसाईँ पक्राउ परे। प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको प्रमाण भन्दै प्रसाईँले कागजपत्र सार्वजनिक गरेका थिए।

प्रसाईँले मङ्सिर ७, तस्करहरूको पत्तासाप भन्ने अराजक अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीमाथि एनसेललाई १५ अर्ब कर छुट दिएर कम्बोडियामा लगानी गरेको आरोप लगाएका थिए।

प्रहरीले प्रसाईँलाई पक्राउ गरेर उनको घरबाट ल्यापटप र मोबाइल बरामद गरेको छ। तर, दुर्गा प्रसाईँको सामाजिक सञ्जाल अभियानमा भने विभिन्न सामग्रीहरू पोस्ट भइरहेका छन्।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि चर्चामा आएका प्रसाईँ पछिल्लो समय अराजक अभिव्यक्ति दिएर विवादमा पर्दै आएका छन्।

यसअघि रास्वपाकी एक नेतृको चरित्र हत्या गरेको आरोपमा असोज ६ पक्राउ परेका प्रसाईँ काठमाडौं जिल्ला अदालतले मागेको एक लाख रुपैयाँ धरौटी बुझाएर असोज १५ गते रिहा भएका थिए।

मङ्सिर ७ मा जनप्रदर्शनको तयारीमा रहेका प्रसाईँ मङ्गलवार दोस्रो पटक प्रहरी हिरासतमा पुगेका हुन्। प्रहरीले निवासबाट पक्राउ गर्दै गर्दा समेत प्रसाईँ बोल्न रोकिएनन्। उनले तस्करविरुद्धको आन्दोलन जारी रहने अभिव्यक्ति दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले प्रसाईँलाई थप अनुसन्धानका लागि साइबर ब्युरो भोटाहिटी पठाएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। प्रसाईँलाई पक्राउ गरेपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गरी बेलुकी सिंहदरबार प्रहरी वृत्तको हिरासतमा ल्याएर राखिएको छ। प्रसाईँले सार्वजनिक गरेका कागजात किर्ते भएको भनिएको छ।

नौ युट्युब च्यानललाई कारबाही

प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ। काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले विज्ञप्ति जारी गरी दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको जानकारी दिए।

मिडियाअन्तर्गत आबद्ध भएका एक फेसबुक पेजसहित अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको जानकारी उनले दिए। सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिई प्रसारण भएकाप्रति पनि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।

प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरीत गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि काउन्सिलले जनाएको छ।

पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन पूर्वमन्त्री लीला वल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखिने भएको छ। पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर मानव तस्करीको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमित दिएको छ।

उनी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। नक्कली परिचयपत्र बनाई सङ्गठित गिरोहलाई मोटो रकम बुझाएर जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। जापानबाट फिर्ता गरिएका युवाले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएपछि पूर्वमन्त्री अधिकारी पक्राउ परेका हुन्।

छविलाई काठमाडौं ल्याइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइने भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। कास्की प्रहरीको हिरासतमा रहेका कुमार रम्तेललाई भने काठमाडौं झिकाएर बयान लिइएको छ। उनको बयान सकेर फेरी पोखरा फिर्ता गरिएको प्रहरीले जनाएको छ।

रम्तेललाई पोखरा फिर्ता गरिएसँगै कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई मङ्गलवार बेलुकी यति एयरलाइन्सबाट काठमाडौं ल्याइएको छ। छविको बुधवारदेखि बयान सुरु हुनेछ। छविको बयान सकिएपछि मात्रै पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।

छवि र रविविरुद्ध गत आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.