निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उपनिर्वाचनमा ३ जना निर्विरोध निर्वाचित, ३१ जनाको उम्मेदवारी फिर्ता

उपनिर्वाचनमा ३ जना निर्विरोध निर्वाचित, ३१ जनाको उम्मेदवारी फिर्ता

100
SHARES

काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका ३ जना निर्विरोध निर्वाचित भएका छन्। नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ। भट्टराई र भुलले काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका थिए।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर –२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। काँग्रेसको चुनाव चिन्हमा उम्मेदवारी दिएका एमालेका उम्मेदवार जीवन रोका, एकीकृत समाजवादीकी सुनिता बुढामगर र स्वतन्त्र उम्मेदवार शुक्र वि.क.ले उम्मेदवारी फिर्ता लिएसँगै घर्ती निर्विरोध निर्वाचित भएका हुन्।

वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित घर्तीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन्। घर्तीले आफूले उमेरले पाको भएका कारण सबैको समर्थनबाट निर्विरोध निर्वाचित हुन सफल भएको बताए।

निर्वाचन आयोगका अनुसार ३ जना निर्विरोध निर्वाचित भएसँगै अब ४१ पदका लागि मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। स्थानीय तहमा रिक्त ४४ पदका लागि उम्मेदवारी दिएका ४१० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन।

उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ राजनीतिक दल मध्ये ५ वटा राजनीतिक दलको उम्मेदवारी शून्य रहेको आयोगले जनाएको छ। हाम्रो नेपाल पार्टी, नेकपा मार्क्सवादी लेनिनवादी, नेपाली काँग्रेस (वि.पी.) नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगले जनाएको छ।

आयोगले बुधवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ। अब ४१ पदका लागि २० राजनीतिक दल र स्वतन्त्र समेत गरेर ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय सुरक्षा परिषद्ले भने मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सेना परिचालनका गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।

उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि परिषद्ले मन्त्रिपरिषद्मा सिफारिस गरेको रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.