काठमाडौं : सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बिहीबारदेखि बयान सुरु हुने भएको छ। कास्की प्रहरीको हिरासतबाट मङ्गलवार काठमाडौँ ल्याइएका जोशीको बिहीबार बिहान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान हुन लागेको हो।
बुधवारबाट बयान लिने तयारी भए पनि थप अनुसन्धानका लागि ९ गतेसम्म म्याद थपिएकाले उक्त अवधिभित्रै बयान लिएर पुनः कास्कीमै पठाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ। छविको बयान सकिएपछि पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।
छवि र रविविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
उक्त ठगी प्रकरणको अनुसन्धान सुरु नहुँदै रवि सहित अन्य १० जना विरुद्ध बुधवार चितवनमा पनि पूरक जाहेरी परेको छ। चितवनमा रहेको सहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जना विरुद्ध पीडित पक्षले पूरक जाहेरी दिएको चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
चितवनमा रहेको सहारा सहकारीका ३१९ बचतकर्ताको ३७ करोडभन्दा बढी रकम हिनामिना भएको बताएका छन्। सहकारी प्रकरणमा नाम जोडिएकाहरूलाई सरकारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ठगीमा संलग्नहरू पक्राउ परे पनि बचत कर्ताको रकम फिर्ता फिर्ता हुन्छ कि हुँदैन भन्ने सुनिश्चित छैन।
यही आशङ्कामा सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता हुने सुनिश्चितताको माग गर्दै फेरि काठमाडौँ केन्द्रित प्रदर्शन थालेका छन्। माइतीघरमा दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई छेक्ने क्रममा प्रहरीलाई ढुङ्गा हानेपछि प्रहरीले लाठी चार्ज गरेको हो। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी सहित सात जना घाइते भएको प्रहरीले जनाएको छ। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरूले आफूहरूको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्।
प्रसाईँ थप ५ दिन हिरासतमा रहने
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थप पाँच दिन हिरासतमै रहने भएका छन्। साइबर अपराधको आरोपमा पक्राउ परेका उनलाई अदालतले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएका उनलाई न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
मङ्गलवार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई बुधवार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो। प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते गरिएका कागज सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साइबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.