काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी तत्कालका लागि टरेको छ। सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेसँगै मन्त्रिपरिषद् फेरबदल गर्ने च्याप्टर क्लोज भएको नेताहरूले दाबी गरेका छन्।
सरकार गठनको चार महिनामा प्रभावकारी काम गर्न नसकेका मन्त्रीहरू फिर्ता बोलाउने तयारीलाई प्रधानमन्त्री ओलीको सचिवालयले हल्ला मात्रै भएको बताएको छ। प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले मन्त्रिपरिषद् हेरफेरको तयारी प्रधानमन्त्रीले नगरेको जिकिर गरे।
यसपटक ओलीले प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट एक महिनाभित्रमै जनतामा आशा जगाउने गरी, ६ महिनाभित्र जनतालाई आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए।
शक्तिशाली सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले एक वर्षभित्र इन्डिकेटरमै स्पष्ट देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई सचेत गराएका थिए। स्रोतकाअनुसार काँग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई हटाउने पक्षमा प्रधानमन्त्री छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन ओली अमेरिका जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहले सम्हालेका थिए भने गृह मन्त्रालयको चाबी लेखकसँग थियो। त्यहीबेला देशमा आएको बाढी–पहिरोबाट ठुलो जनधनको क्षति भएपछि भिजिबिलिटी गुमाएको सरकारको व्यापक आलोचना भएको थियो।
पछिल्लो समय विवादमा तानिएका पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेलाई पनि प्रधानमन्त्रीले हटाउन चाहेको चर्चा छ। आफ्नै पार्टीका मन्त्रीहरूसँग पनि प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘आइजिपीको जिब्रो थुत्नुपर्छ’ भन्ने अभिव्यक्ति दिने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, कर्मचारी सरुवामा आर्थिक लेनदेनको आरोप लागेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भौतिक पूर्वधारमन्त्री देवेन्द्र दाहाल र उद्योगमन्त्री दामोदर भण्डारीसँग प्रधानमन्त्री असन्तुष्ट रहेको नेताहरू बताउँछन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बुधवार मात्रै शीर्ष नेताहरूले चाहेमा चुनाव जितेकाहरूलाई मन्त्री बन्न कुनै अनुभव र योग्यता नचाहिने बताएका छन्। काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय चलाउन अनुभव र योग्यता नचाहिने बताए।
आफ्नो अभिव्यक्ति विवादमा तानिए पछि राजीनामा दिने मन्त्री पनि छन्। तर अहिले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको चाहना राखे पनि सत्ता साझेदार काँग्रेस तयार नहुँदा एक दुई जना मन्त्रीबाट हट्ने सम्भावना क्षीण देखिएको छ। कम्तीमा एक वर्ष काम गर्न दिएपछि वा सरकारको नेतृत्व नै फेरिँदा मात्रै मन्त्रीहरू पनि फेर्नुपर्ने काँग्रेस नेता मीन विश्वकर्माले बताएका छन्।
मन्त्री मात्र होइन पार्टीका सांसदहरू पनि बेलगाम बोलिरहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पार्टीमा निवेदन नै लिए पछि काँग्रेस सांसद राजेन्द्र बजगाईँले माफी मागेका छन्।
आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएको उल्लेख गरेका छन्। बजगाईँलाई काँग्रेसको अनुशासन समितिले बोलाएर मौखिक स्पष्टीकरण सोधेको थियो। लिखित स्पष्टीकरण पनि दिन भनेको थियो।
बुधवार बिहान सामाजिक सञ्जाल एक्समार्फत पाण्डेसँग माफी माग्दै बजगाईँले लाञ्छित अभिव्यक्ति फिर्ता लिएको जानकारी दिए। मन्त्री पाण्डेले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकबाट करोडौँ रुपैयाँ घुस लिएको आरोप लगाएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.