मन्त्री हेरफेरबारे लेखकले दिए प्रष्टीकरण

मन्त्री हेरफेरबारे लेखकले दिए प्रष्टीकरण

धनगढी : मन्त्रिपरिषद् हेरफेरको तयारीमा आफ्नो नाम समेत जोडिए पछि गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण दिएका छन्। उनले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताए। ‘आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल भएको छैन,’उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सहित काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई हटाउन शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए। तर, देउवाले मन्त्री फेरबदलको प्रस्ताव अस्वीकार गरेपछि धनगढी पुगेका गृहमन्त्री लेखकले मन्त्री परिवर्तनको कुरा हल्ला मात्रै भएको बताएका हुन्।

प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने भने बताए। सभापति देउवाका विश्वासपात्र समेत रहेका लेखकले भने,’दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन।’

मन्त्रिपरिषद् हेरफेरमा देउवा असहमत, हल्ला मात्रै भएको दाबी

२०८४ सम्म यो गठबन्धन कायम रहने उनले बताए। उनले अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने प्रश्नमा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको दाबी गरे। ‘एमाले र काँग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौ,’उनले भने,’२०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ।’

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडी जानू भयो भन्ने विषय सामान्य रहेको उल्लेख गरे। लेखकले भने,’प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको जानकारी दिए। उनले अब नयाँ कार्ययोजना सहित शान्ति सुरक्षा कायम हुने बताए। तर, त्यो नयाँ कार्ययोजना के हो भनेर उनले खुलाएनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.