काठमाडौँ : नेकपा एमालेले जागरण सभाका नाममा सत्ताको शक्ति प्रयोग गरेको छ। राजनीतिक दलहरूको सभा सम्मेलन, नारा जुलुस गर्न निषेध गरिएको दरबारमार्गमा एमालेले जागरण सभाका लागि काठमाडौँका विभिन्न ठाउँबाट जुलुस निकालेको छ।
दरबारमार्गमा हुने एमालेको जागरण सभालाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। उनले सम्बोधन गर्ने समय दिउँसो साढे १ बजेका लागि निर्धारण गरिएको ओलीको सचिवालयले जनाएको छ।
जागरण सभाका लागि एमाले नेता कार्यकर्ता नारा जुलुस सहित दरबारमार्गमा भेला हुने क्रम चलिरहेको छ। एमालेको जागरण सभाका कारण काठमाडौँको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ। लामो जाममा बस्नु पर्ने अवस्था सिर्जना भएको छ।
सुरक्षाकर्मीहरू सत्ताको नेतृत्व गरेको एमालेका नेता कार्यकर्ता बाजागाजासहित जिन्दाबाद र मुर्दावादको नारा लगाउँदै निषेधित क्षेत्र दरबारमा प्रवेश गर्दा रमिते बनेका छन्। सहकारी पीडितले माइतीघरमा बचत फिर्ताको माग गर्दै प्रदर्शन गर्दा लाठी बर्साउने सुरक्षाकर्मीहरू एमाले नेता कार्यकर्तालाई निषेधित क्षेत्रमा निर्बाध प्रवेश गर्न दिएर रमिता हेरिरहेका छन्।
दरबारमार्ग सडक खाली गराएर एमाले कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्न बनाइएको स्टेजमा पार्टीमा राम्रो नेकपा एमाले, लगायतका बोलको गीत घन्किएको छ भने नेता कार्यकर्ता नाचिरहेका छन्।
एमालेको यति बेला सांस्कृतिक कार्यक्रम चलिरहेको छ। स्टेजमा बसेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रामबहादुर थापा बादल लगायतका नेता गीत सुनिरहेका छन्।
देशको सुरक्षा बागडोर सम्हालेका गृह प्रशासन भने जवाफविहीन बनेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दरबारमार्गमा जागरण सभाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँ जानकार रहेको बताए। निषेधित क्षेत्र दरबारमार्गमा राजनीतिक दलहरूले सभा गर्न पाउने भएका हुन् भन्ने प्रश्नमा गृह प्रवक्ता तिवारीले पहिचानसँग भने,’सिडिओ शावलाई सोध्नु न, त्यो सिडिओको कार्यक्षेत्र हो।’
तर, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ठाउँ दिने निकाय आफूहरू नभएको बताए। उनले प्रधानमन्त्रीको सुरक्षा, जनताको सुरक्षामा लागिरहेको बताए।
अनुमति कसले दिएको हो भन्ने पहिचानको प्रश्नमा आचार्यले अनुमतिबारे जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीको सुरक्षाका लागि अनुमतिको कुरा नआउने बताए। ‘प्रधानमन्त्रीलाई सुरक्षा दिने हो। जनताको सुरक्षामा लागि रहेका छौँ,’उनले भने,’ठाउँ दिने निकाय हामी होइनौ।’
के अब सबै राजनीतिक दलका लागि दरबारमार्गमा नारा जुलुस, सभा सम्मेलन गर्न खुला भएको हो? भन्ने प्रश्न सर्वसाधारण गरेका छन्। अरूलाई सुशासन र पारदर्शिताको पाठ सिकाउने ओली आफैँ जागरण सभालाई सम्बोधन गर्न दरबारमार्ग पुग्दैछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.