काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेको झाको झारेका छन्। ओलीले हिन्दी उखान सुनाएर रविलाई चोरको संज्ञा दिए।
रवि गृहमन्त्री हुँदा प्रहरी प्रमुखलाई संसदीय समितिमा आफू निर्दोष भएको बकाउन लगाएको तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगले मुख छाड्ने? भनेर प्रश्न गरे। हिन्दी उखान सुनाउँदै ओलीले भने,’चोरले नै प्रहरीको हाकिमलाई हप्काएछ। यस्तै यहाँ त उल्टै सहकारी कतिकति सहकारीमा ठगीका प्रमाणहरू छन्। आफैँ सहकारी ठगी गर्ने अरूलाई मुख छाड्ने? अरूलाई गाली गर्ने?’
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार शैह्य नहुने बताए। मानव तस्करीको आरोप लागे पछि कोशी प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका लीला वल्लभ अधिकारी तर्फ सङ्केत गर्दै ओलीले कुनै पनि प्रकारको मानव तस्करी शैह्य नहुने बताए। ‘कुनै पनि प्रकारको भ्रष्टाचार शैह्य हुने छैन,कुनै पनि प्रकारको ठगी शैह्य हुने छैन, कुनै पनि प्रकारको मानव तस्करी शैह्य छैन,’ओलीले भने।
प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात ख्वाएर चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जस्ता अराजकतावादीहरूतर्फ लक्षित गर्दै ओलीले जे पनि बोलेर चरित्र हत्या गर्ने काम नेपाली समाजमा स्वीकार्य नहुने बताए। ‘जे पनि बोल्न चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने, यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन,’उनले भने,’यस्ता कुराहरूलाई हामी प्रोत्साहित गर्न सक्दैनौ।’
प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको आरोप लगाएका प्रसाईँ आरोप लगाएको भोलिपल्टै पक्राउ परे। उनी अहिले प्रहरी हिरासतमा छन्। प्रसाईँले मङ्सिर ७, तस्करहरूको पत्तासाप भनेर प्रचार समेत गरिरहेका थिए।
प्रसाईँको घोषित जनप्रदर्शनकै दिन नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीको नाममा मङ्सिर ७ मै एमालेले सत्ता शक्तिको दुरुपयोग गर्दै दरबारमार्गमा जागरण सभा गर्यो,जुन सभामा प्रधानमन्त्री ओलीले रविसँगै प्रसाईँलाई पनि झापड हाने।
जागरण सभामा ओलीले देशलाई सुशासन दिने र गरिबीबाट मुक्त गर्ने ओठे जवाफ दिए। प्रसाईँतर्फ सङ्केत गर्दै ओलीले भने,’कहिल्यै कोही बैङ्कको ऋण तिर्नुपर्दैन भनेर कराएर हिँड्छ,बैङ्कको ऋण लिएपछि तिर्नुपर्दैन?तिर्नु पर्दैन भनेर कराएर हिँड्छ,किनभने यस देशमा यस देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल,अस्तव्यस्त बनाउन र ध्वस्त बनाउनका लागि यी काम भएका हुन्।’
ओलीले विद्युत् महसुल विवादमा माओवादीको अडान र पशुपतिबाट मारवाडी हटाउने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहको प्रयासलाई पनि झटारो हाने। ‘उद्यमी, व्यवसायी, मारवाडीलाई खेद भन्ने अभियान चल्छ। यो के का लागि साम्प्रदायिक विद्वेष मच्चाउने, अर्थतन्त्रलाई ध्वस्त पार्ने अभियान।’
उनले मिटरको विल अनुसार विद्युत्को महसुल उठाउन प्राधिकरणलाई निर्देशन पनि ओलीले दरबारमार्गको जागरण सभामार्फत दिए। उनले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई नीति बिनाको दलको संज्ञा पनि दिए। ‘नीति अगाडी सार्न नसक्ने, गाली गर्ने, मुख छाड्ने,’उनले भने,’आफ्ना विरुद्ध बोलेको छ भने राति प्रहार गर्ने, हत्या गर्ने। जघन्य अपराध गर्ने। यस प्रकार अपराध स्वीकार्य छैन। अनुहार हेरिदैन, अपराध गर्नेलाई कारबाही गर्छ।’
देशमा सुशासन ल्याउनका लागि काँग्रेस र एमालेले प्रतिस्पर्धा स्थगित गरेर सरकार सञ्चालन गरेको ओलीले बताए। उनले दोषी उम्कन नपाउने बताए। भारत भन्दा पहिले चीन भ्रमण गर्न लागेका चर्चा चलाइएकोमा ओलीले वाहियात र कायर कुरा नगर्न भनेका छन्।
आफ्नो नेतृत्वमा सरकारको टोली १७ गतेबाट चीन भ्रमणमा जाने ओलीले बताए। चीन भ्रमण सफल रहने उनले सुनाए। ‘चीनबाट फर्किएपछि आफैँ थाहा पाउनुहुनेछ,’उनले भने,’यतिकै चीन घुमेर आउँ भनेर जान लागेको होइन। देशको हितका लागि भ्रमण हुन लागेको हो। उदाहरणीय हुनेछ।’
उनले आफू बदमासी गर्ने अरूको टाउकोमा खन्याउन नपाउने सुनाए। यस्ता भ्रममा जनता नपर्ने विश्वास समेत प्रधानमन्त्री ओलीले गरे। त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्ने चेतावनी पनि ओलीले दिए।
उनले एमाले हात्तीको बथानको संज्ञा दिए। नाङ्लो ठटाएर हात्ती नतर्सने उनले सुनाए। बुटवलमा बयान दिएर निस्कँदै गर्दा रवि लामिछानेले ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भनेको तर्फ सङ्केत गर्दै ओलीले भने,’नाङ्लो ठटाएर हात्ती तर्सँदैन, एमाले हात्तीको बथान हो।’
उनले चीन भ्रमणमा ऋण लिने सम्झौता नगर्ने सङ्केत पनि दिए। ‘हामी सकेसम्म कतैको पनि ऋण लिन चाहँदैनौ, अहिले हाम्रो ऋण लिने, ऋण थुपार्ने, त्यस प्रकारको मनस्थिति छैन,अवस्था पनि छैन,’उनले भने,’तर हामीले उत्पादन बढाउनु परेको छ,आफ्नो उत्पादन कसरी बढाउन सकिन्छ,निराश हुने कुरा होइन।’
निषेधित क्षेत्रमा नारा जुलुस, सभा सम्मेलन गर्न नपाइने सुरक्षा प्रशासनको नियमलाई भने एमाले आफैँले उल्लङ्घन गरेको छ। नियम उल्लङ्घन गरेर पार्टीले आयोजना गरेको जागरण सभामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा ओलीले दरबारमार्गबाट रवि, प्रचण्ड, बालेन, दुर्गा प्रसाईँलाई मात्रै होइन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्मलाई नीति नियम सुनाए।
निषेधित क्षेत्रमा एमालेको शक्ति प्रदर्शन : सुरक्षा निकाय रमिते, सिडिओ पन्छिए
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.