काठमाडौं : चुनावमा सहभागिताबारे दोधारमा रहेको नेकपा विप्लव समूह ८४ मा ठुला र नयाँ दलहरूसँग प्रतिस्पर्धा गर्न तयार भएको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गरे चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गर्न नसकेको विप्लव नेकपाका केही नेताले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पार्टीभित्र चुनावमा भाग लिने नलिने विवाद भए पछि निर्णय गर्न नसकेको नेकपाका महासचिव विप्लवले ८४ मा वडा देखि सङ्घीय संसद्मा प्रतिनिधित्वका लागि प्रतिस्पर्धा गर्ने बताए।
उनले त्यसका लागि नेकपा नेता कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता हुनुपर्ने सहित सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन हुनु पर्ने सर्त राखे। चुनावमा भाग लिन नदिएर जेल कोच्न खोजिए त्यसको जवाफ दिन तयार रहेको विप्लवले चेतावनी दिए।
देशमा भ्रष्टाचार मौलाएको विषय विप्लवको जनमत क्यास गर्ने मसला बनेको छ। नेताहरू धनी हुँदै जाने र जनता ऋणको भारी बोक्न बाध्य हुनु पर्ने अवस्था विद्यमान छ। वास्तविक किसानले राज्यको अनुदान पाउँदैनन्।
नक्कली किसान बनेर राज्यको अनुदान कुम्ल्याउनेहरूको हरेक कृषि मन्त्रीले नाम सार्वजनिक गर्ने धम्की दिँदै आएका छन्। तर, मन्त्रीबाट निस्कँदा आफैँ भ्रष्टाचारी कहलिने गरेका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा महासचिव विप्लवले किसानका नाममा आएको सुविधा सरकारमा रहेका दलका नेताहरूले हसुरेको आरोप लगाए। ‘यतिसम्म छ कि राज्यमा बसेका पार्टीका मान्छेहरूले नक्कली बिल बनाएर बाख्राको सुविधा खाइरहेका छन्,माछा पालनको सुविधा खाइरहेका छन्,उनीहरूले त्यतिकै नक्कली खोर देखाएर करोडौँ रुपैयाँ हिनामिना गरिरहेका छन्,’नेकपा महासचिव विप्लवले भने,‘तर वास्तविक किसानले कुनै सुविधा पाएको छैन,त्यो पीडामा नेकपा पनि छ।’
भ्रष्टाचार गर्नेमा पुराना दलहरू मात्रै छैनन्। नयाँ भनिएका दलका नेताहरू एक पछि अर्को अभियोगमा प्रहरी हिरासतमा पुगेका छन्। प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने तर्फ सङ्केत गर्दै विप्लवले नयाँ पार्टी गर्भबाटै भ्रष्टाचार बोकेर आएको सुनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी पनि विप्लवले गरे। सरकार कुनै पनि बेला ढल्न सक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनुपरेको उनले जिकिर गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.