काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरूको मुद्दामा पेशी तोकिएको छ। १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतले पूर्ण सुनुवाइका लागि मुद्दाको पेशी तोकिएको जनाएको छ।
नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी १६ मङ्सिरका लागि तोकिएको अदालत प्रशासनले जनाएको छ। अदालत प्रशासनले आइतबार तारेख बुझ्न गएका प्रतिवादीहरूलाई १६ गते पेशी तोकिएको जानकारी दिइएको हो। ‘१६ मङ्सिरका लागि पेशी तोकिएको छ,’अदालतका श्रेष्तेदार रामबाबु शर्माले पहिचानसँग भने,’साक्षी बकपत्रको आदेश हुनसक्छ।’
पुर्पक्षका लागि थुनामा गएका १६ मध्ये पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित धरौटी बुझाएर तारेखमा रिहा भएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सन्देश शर्मा, सागर राई र सानु भण्डारी थुनामा छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम न्यौपानेको इजलासले पक्राउ परेका १८ मध्ये १६ जना आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। प्रहरीले ८ जेठमा सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार ३० जना विरुद्ध मुद्दा दायर भएको थियो।
राई र महर्जनको खाता फुकुवा गरिदिन निवेदन, निलम्बित सचिव पाण्डेलाई कारागारमै पितृ शोक
३१ वैशाखमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका थिए। २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे।। २० वैशाखमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परे।
१९ वैशाखमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परे। १२ चैतमा नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ परेका थिए।
उनीहरू विरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको छ। २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष् बुढाथोकी, विनीता सावदेन लिम्बू, निरञ्जन कुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापा छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.