रविलाई १५ दिन र प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति

रविलाई १५ दिन र प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेलाई अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिए लगत्तै आइतबार फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो।

यो समेत गरी लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप भएको छ। पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

उनलाई सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै रुपन्देही पछि काठमाडौँ र चितवनबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ। लामिछानेलाई बयानका लागि काठमाडौं झिकाउने तयारी भएको छ। तर, काठमाडौं ल्याउने समय भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले लामिछानेलाई काठमाडौं ल्याउने बेला जानकारी हुने बताए।

लामिछानेको रिहाइका लागि आन्दोलन गर्दै आएको रास्वपा भने सुस्ताएको छ। कार्तिक २ गते पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गर्दै आएको रास्वपाले आन्दोलन रोकेको छ।

रास्वपाको प्रदर्शन रोक्न पोखराका विभिन्न ठाउँमा निषेधित क्षेत्र लगाएको प्रशासनलाई पनि हाइसन्चो भएको छ। पानीको फोहोरा नै हान्नु परेको अवस्था भोगेको प्रहरीले आइतबार शान्त वातावरणमा रविलाई अदालत उपस्थित गराएर पुन हिरासतमा राखेको छ।

प्रसाईँ थप ५ दिन हिरासतमा

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको आरोप लगाउँदा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थप पाँच दिन हिरासतमा बस्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रसाईँले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको अदालत प्रशासनले जनाएको छ। मङ्सिर ४ भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईँविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.