पूर्वमन्त्री अधिकारीको उन्मुक्ति रास्वपालाई थप मसला

पूर्वमन्त्री अधिकारीको उन्मुक्ति रास्वपालाई थप मसला

ओलीलाई गाली गर्ने सांसद निलम्बित

काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्भव अधिकारीलाई उन्मुक्ति दिने निर्णयको चौतर्फी आलोचना भएको छ। नेकपा एमालेको सत्ताको बलमा अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको आरोप लागेको छ।

किर्ते कागज बनाएर मान्छे जापान लैजाने पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएर सरकारले आफ्ना मान्छे जोगाएको आरोप लागेको हो। मानव तस्करीको आरोप लागे पनि राजीनामा नदिएका अधिकारीले मुख्यमन्त्रीको निर्देशन पछि मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए। सत्तारुढ एमालेले पार्टीबाट निलम्बन गरेको थियो।

सङ्घीय सरकारको नेतृत्व एमालेले गरेको छ। पक्राउ परेको १३ दिनमै अधिकारीले उन्मुक्ति पाए पनि मन्त्रीसँगै जापान गएर फर्किएका ३ जना सहित ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णयले सरकारको पक्षपातपूर्ण व्यवहार छर्लङ्ग भएको आरोप लागेको छ।

जापानमा गैरकानुनी रूपमा मानिस लगेर उतै लुकाउने गिरोहको योजनामा अधिकारीको संलग्नता पुष्टि हुने आधार र प्रमाण भेटिएको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर अभियोगपत्र दायर हुँदा अधिकारीलाई भने सरकारी वकिलको कार्यालयले उन्मुक्ति दियो।

सरकारको यो निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका लागि थप मसला बनेको छ। नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टिस्टेट प्रकरण लुकाउन सहकारी ठगीको आरोपमा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेपछि आन्दोलन गर्दै आएको रास्वपाले सरकारको पूर्वाग्रही राजनीतिक प्रतिशोध पुष्टि भएको बताएको छ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता मनिष झाले एमाले नेता अधिकारीमाथि कानुनी कारबाही नभएको घटनाले रविमाथि राजनीतिक प्रतिशोध साँधेको थप पुष्टि गरेको बताए।

सरकारले राजनीतिक प्रतिशोध साँधेको पुष्टि भएको आरोप लगाएको रास्वपा सभापति लामिछानेको सहकारी ठगीमा भने रक्षात्मक बनेको छ। सरकार आफ्नालाई जोगाउन लागे जस्तै रास्वपा पनि सभापति लामिछाने जोगाउन लागेको आरोप छ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको र मिडिया मार्फत लामिछानेले चलाएको पुष्टि भए पनि रास्वपा भने जनताको आँखामा छारो हाल्न कम्मर कसेर लागेको छ।

सहकारीको व्याज तिर्न लामिछानेको हस्ताक्षरमा काटिएका चेक प्रहरीले बरामद गरे पछि लामिछाने आफैँ रन्थनिएका छन्। तर, रास्वपाका प्रवक्ता मनिष झा भने सहकारीको ब्याज तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट अदालतले प्रमाणित गर्ने कुरा भएको बताउँछन्।

सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई केही दिनमा काठमाडौं ल्याएर बयान लिने तयारी भएको छ। लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

लामिछानेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर लगायतका प्लेकार्डसहित स्वतन्त्र समूह बताउने युवाहरूको समूहले प्रदर्शन गरेको हो।

ओलीलाई गाली गर्ने सांसद निलम्बित

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई गालीगलौज गरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ।

एमाले जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई अध्यक्ष ओली र महासचिव पोखरेलसहितको मानहानि गरेको आरोपमा सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो। एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएको जानकारी चौधरीलाई दिएका छन्।

प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ। उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानि हुने गरी सार्वजनिक रूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ।

एमालेले चौधरीसँग स्पष्टीकरण सोध्दा समेत उनले कमीकमजोरी स्विकार्नुको साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको आरोप लगाएको छ। अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेका चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.