निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार बने सेलिब्रेटी

कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवार बने सेलिब्रेटी

तेस्रोलिंगीहरुलाई पनि एक पटक हेर्नुहोस्। हामी जुन काम गर्छौ भनेर आएका छौँ, त्यो काम गरेरै छाड्छौँ।

218
SHARES

काठमाडौँ : कीर्तिपुरमा चुनावी माहौल तातेको छ। नगर प्रमुख र वडा अध्यक्ष पदमा उम्मेदवार दिएकाहरू भोट माग्न व्यस्त छन्। १० वडा रहेको नगरको प्रमुख निर्वाचित गर्न मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ।

मतदातालाई उम्मेदवारहरूले बाटोघाटो, स्वास्थ्य, शिक्षाको गुलियो आश्वासन दिइरहेका छन्। १२ कक्षा पास भइसकेपछि ब्याचलर पढ्न चार वर्षका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा समेत उम्मेदवार दीपक महर्जन (हनि)ले गरेका छन्। ‘हामी निर्वाचित भएको खण्डमा कति जनालाई हुन सक्छ, हामी चार वर्षका लागि ऋण दिएर उहाँहरूको शिक्षामा योगदान पुर्‍याउने छ,’हनि आफ्नो योजना सुनाउँछन्।

बृद्धबृद्धाको लागि औषधी उपचारका लागि घरदैलो गर्ने र तथ्याङ्क अभिलेख राखेर हरेक हप्ता औषधी वितरण गर्ने योजना हनिको छ। नगरपालिका स्वच्छ, सुन्दर बनाएर पर्यटक भित्र्याउने चाहना उनको छ। नेपालका पिछडिएका ठाउँहरूलाई अगाडी ल्याएर पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्ने हनि बताउँछन्।

तेस्रोलिंगी पहिचानमा कीर्तिपुर नगरको प्रमुख पदमा पहिलो पटक उम्मेदवारी दिएका हनि सेलिब्रेटी नै बनेका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया कीर्तिपुरमा पुगिरहेका छन्। मिडियालाई अन्तर्वार्ता दिन हनिलाई भ्याई नभ्याई भइरहेको छ। मतदाताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त हनिले सुनाउने योजना पनि धेरै छन्।

तेस्रोलिंगी उम्मेदवार घरदैलोमा पुगेर मत माग्न व्यस्त

कीर्तिपुरका मतदातासँग हनिले यो पटक तेस्रोलिंगी उम्मेदवारलाई विजयी गराउन अनुरोध गरिरहेका छन्। ‘धेरै पटक मेल,फिमेललाई हेर्नुभयो,हामी तेस्रोलिंगीहरुलाई पनि एक पटक हेर्नुहोस्। हामी जुन काम गर्छौ भनेर आएका छौँ, त्यो काम गरेरै छाड्छौँ,’हनिले भने,’तर अरू जस्तै ठुलाठुला नेताहरूले जस्तै भाषण पनि गर्दैनौ।’

जनतालाई देखाएर नगरपालिकामा आएको बजेट खर्च गर्ने हनिले मतदातासँग प्रतिबद्धता जनाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका हनि आफ्नो उम्मेदवारी तेस्रोलिंगीलाई सम्मानका साथ संसारभर चिनाउने अवसर रहेको बताउँछन्। ‘जसपा नेपालले यो वातावरण बनाइदियो,तपाईँहरू पनि एक पटक भोट दिएर हेर्नुहोस्,’उनले भने,’हामी गरेर देखाउँछौ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान पूर्वक बाँच्ने अधिकार रहेको बताए। समलिङ्गी, तेस्रोलिंगीलाई विभेद नगरी अरू सरह आरक्षणको व्यवस्था गर्न उनले सरकारसँग माग गरे। उनले छक्का हिजडा भनेर अपमान नगर्न आग्रह गर्दै भने,हामीलाई तेस्रोलिंगी भन्नुहोस्,हामी खुसी साथ तपाईँहरूलाई सम्मान गर्छौ।

कीर्तिपुरको ४ नं वडाको अध्यक्षमा तेस्रोलिंगी राजीव महर्जन (मौनी)ले उम्मेदवारी दिएका छन्। उनलाई पनि भोट माग्नसँगै अन्तर्वार्ता दिन भ्याई नभ्याई हुने गरेको छ।

समाचार शेयर गर्नुहोस्
218
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.