काठमाडौं : स्थानीय तह उपनिर्वाचन प्रचारको अन्तिम दिन राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले अन्तिम चुनावी सभा गरेका छन्। दलका उम्मेदवारहरूले शीर्ष नेताहरूलाई बोलाएर सभा गर्दै भोट माग्दा स्वतन्त्र उम्मेदवार घरदैलो गरेर मत मागे।
उपनिर्वाचन हुने स्थानीय तह मध्येमा सबैभन्दा केन्द्रमा छ, काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पद। एक मात्र मेयर पदका लागि तेस्रोलिंगी सहित १९ जना उम्मेदवार छन्। कीर्तिपुरकै दुई वडाध्यक्ष पदमा पनि उत्तिकै प्रतिस्पर्धा छ। जसका लागि प्रमुख दलदेखि स्वतन्त्रसम्मले विभिन्न योजना र नारासहित चुनावको तयारी गरेका छन्।
उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन सत्तारुढ काँग्रेस, एमाले र प्रतिपक्षी माओवादीले छुट्टाछुट्टै चुनावी सभा गरे। काँग्रेसको तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, एमालेको तर्फबाट महासचिव शङ्कर पोखरेलले कीर्तिपुर पुगेर भोट मागे। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलगायतले आआफ्नो चुनावी सभालाई सम्बोधन गरे।
कीर्तिपुरको पाँगामा आयोजित सभाबाट एमाले महासचिव पोख्रेलले माओवादी प्रति लक्षित गर्दै ३२ सिटे म्याजिक नम्बरलाई जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्ने बताए।
लोकतान्त्रिक चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले अहिले काँग्रेसलाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेर आग्रह गरिरहेको सुनाए।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नयाँ भन्ने दलहरूको कटाक्ष गरे।
काँग्रेस एमालेको एउटै स्वर सुने पछि नःगाउँ दोबाटोबाट प्रचण्डले आन्दोलनको धम्की दिए।
कीर्तिपुरको मेयरमा अन्तिममा आएर माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन जनाएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले यो उपचुनाव देशको लागि जनमत सङ्ग्रह भएको बताए।
बुधवार कीर्तिपुरमा चुनावी सभा गरेको राप्रपाले बिहीबार काठमाडौँ १६ मा कार्यक्रम गरेको छ। कीर्तिपुरको मेयरमा उम्मेदवार नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगर पालिका वडा नम्बर १६ मा गरेको चुनावी सभामा शीर्ष नेतासहित सांसदहरू उपस्थित थिए।
पूर्वशिक्षामन्त्रीसमेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठ, पूर्व खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, सांसद गणेश पराजुली लगायतले चुनावी सभालाई सम्बोधन गरे। सवारी साधनलाई मञ्च बनाएको रास्वपाले घण्टी बजाएर भोट मागेको छ। रास्वपाबाट काठमाडौँ वडा नम्बर १६ मा रोजिना श्रेष्ठ उम्मेदवार छिन्।
पहिलो पटक स्थानीय तहको चुनावमा सहभागी हुन लागेको रास्वपाले ४१ स्थानमध्ये २६ पदमा मात्र उम्मेदवारी दिएको छ। ठुला राजनीतिक दलहरूलाई स्वतन्त्र उम्मेदवारहरूले पनि चुनौती बढाइरहेका छन्।
धरानका मेयर हर्क साम्पाङको अगुवाइमा भएको स्वतन्त्र उम्मेदवार राजमान महर्जनको चुनावी सभालाई सम्बोधन गर्दै स्वागत नेपालले नयाँ पुराना दलका कार्यकर्ताबाट मान्छे हुन अपिल गरे। दलका चुनाव चिन्हमा मतदान गरेर देशको अवस्था विकराल भएको भन्दै समाजसेवी राजमानलाई जिताउन छोराछोरी चुनाव चिन्हमा मतदान गर्न उनले आग्रह गरे।
कीर्तिपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका तेस्रोलिंगी महिला दीपक महर्जन (हनि)को पक्षमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले घरदैलो गरेर भोट मागेका छन्।
उनीहरूले ४ नं. वडा अध्यक्षमा उम्मेदवारी दिएका तेस्रोलिंगी महिला राजीव महर्जन (मौनी)को पक्षमा पनि भोट मागेका छन्। जसपा नेपालले यसअघि उपप्रमुखमा विजयी हासिल गरेकाले यो पटक तेस्रोलिंगी हनि विजयी हुने दाबी गर्दै आएको छ।
उपनिर्वाचन हुने स्थानीय तहमा बिहीबार रातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। सामाजिक सञ्जालबाट पनि प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले जानकारी दिए।
आयोगले मतदानमा शङ्कास्पद व्यक्तिको प्रवेश निषेध गर्न सरकारलाई निर्देशन दिएको छ। मतदान हुने स्थानीय तहमा अनधिकृत एवं शङ्कास्पद व्यक्तिका गतिविधिमा उच्च निगरानी राख्न, सूक्ष्म ढङ्गले अनुगमन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय मार्फत निर्देशन दिइएको आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.